निषेधाज्ञा थप गर्ने विषयमा उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । आइतबार अपरान्ह ४ बजे बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय गर्ने बताइएको छ ।
भोलि रातिबाट पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय सकिन लाग्दै गर्दा निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको हो।
निषेधाज्ञा एक साता थप गरेर केही क्षेत्रलाई अझै खुकुलो बनाएर लैजाने तयारी भइरहेको छ । तर कुन कुन क्षेत्रलाई थप सहज बनाउने भन्ने विषयमा कुनै निर्णयमा नपुगेकाले यसबारे बैठकपछि नै थाहा हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
अहिले बार र समय तोकेर धेरैजसो पसलहरूलाई खोल्न दिएको छ। खोलिएका पसलहरुको समय थप गर्ने तयारीसमेत भइरहेको छ । त्यस्तै होटेल तथा रेष्टुरेष्ट पनि टेकअवे सुविधा दिइरहेका छन्। निजी सवारी साधनलाई पनि जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिइएको छ। तर सार्वजनिक सवारीलाई भने निषेध नै गरिएको छ ।
प्रशासनले उपत्यकामा वैशाख १६ देखि निषेधको आदेश दिएको थियो । श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत हप्ताबाट खुकुलो पारिएको थियो ।