कपिलवस्तु स्थित प्राचीन तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणाका लागि काम सुरु गर्न निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले कपिलवस्तु स्थित प्राचीन तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्नका लागि प्रारम्भिक कार्य अगाडि बढाउन निर्देशन दिएका छन् ।
मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पुरातत्व विभागलाई निर्देशन दिएका हुन् ।
मन्त्रालयबाट आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको विकासको मुख्य स्तम्भहरू मध्येको महत्वपूर्ण स्तम्भ पर्यटन क्षेत्र भएकाले नेपालको ऐतिहासिक महत्व, समृद्ध संस्कृति, भौगोलिक विविधता तथा प्राकृतिक सौन्दर्यको भरपुर उपयोग गरी पर्यटन प्रवर्द्धन मार्फत पर्यटन क्षेत्रको विकास गर्नु पर्नेमा जोड दिए ।
उनले नेपाल वायु सेवा निगममा निरन्तर भइरहेको घाटाको कारण उजागर गरी घाटा मुक्त हुने अवस्था सृजना गरी जनतामा सकारात्मक आशाको सञ्चार गर्न निगमलाई निर्देशन समेत दिए ।
मन्त्री श्रेष्ठले मन्त्रालयमा विद्यमान रहेका तत्कालै समाधान गर्न सकिने समस्या समाधानको कार्ययोजना तयार गर्न समेत निर्देशन दिएका छन् ।
युरोपियन युनियनको कालो सूचीमा नेपालको हवाई क्षेत्र रहिरहेको तर्फ गम्भिर ध्यानाकर्षण गर्दै मन्त्री श्रेष्ठले कालो सूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउन ठोस कार्ययोजना बनाई काम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए ।