२ प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा साथै लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ,“ प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।”