युनियन लाइफको ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपिओ आउँदै
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । कम्पनीको ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न बोर्डले हिजो अनुमति प्रदान गरेको हो ।
आईतबार नै कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएपनि आईपिओको अनुमति प्राप्त गरेको सुचना आज मात्रै धितोपत्र बोर्डको वेबसाईटमा राखिने बोर्डले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार साधारण सेयर (आईपीओ) निष्कासन गर्न जेठ ९ गते आइतबार सेबोनमा निवेदन पेश गरेको थियो ।
बोेर्डले आईपिओ निष्काशनको अनुमति दिएपछि अब यसै असार महिना भित्रमै आईपिओ बिक्रि खुल्ला गर्नेगरी तयारी भईरहेको स्रोतले जनाएको छ ।
कम्पनीको उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रूपैयाँ रहेको छ । साधारण सेयर (आईपीओ) निष्कासन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघ्नेछ ।
इक्रा नेपालले आईपीओ निष्कासनका लागि युनियन लाइफले ‘(इक्राएनपी– आईआर) बीबीबी’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको आईपीओमा गरिएको लगानी मध्यम किसिमको सुरक्षित रहेको संकेत गर्छ ।