४ आश्विन २०८१, शुक्रबार
राष्ट्रिय धान दिवस

अत्यासलाग्दो रुपमा बढ्यो धान–चामलको आयात, भारतको मुख्य चामल बजार नेपाल

प्रकाशित मिति :  29 June, 2021 12:24 pm


काठमाडौं । आज असार–१५ अर्थात् राष्ट्रिय धान दिवस । देशैभरिका किसान मानो रोपेर मुरी फलाउने तयारी गरिरहँदा देशभित्र धान–चामलको आयात भने अत्यासलाग्दो ढंगले बढेको पाइएको छ ।

विगत एक वर्षको अवधिमा मात्रै देशभित्र धान–चामलको आयात ५८ प्रतिशतले बढेको देखिएपछि भन्सार विभागका अधिकारीहरूले चकित भएका छन् । गत वर्षको जेठ मसान्तसम्म कुल ३० अर्ब रुपैयाँको धान–चामल आयात भएकोमा चालू वर्षको समान अवधिमा यो अनुपात वृद्धि भएर ४८ अर्ब नाघेको छ ।

धानलाई अलग गरेर चामलको मात्र तथ्या‍ंक हेर्दा गत आर्थिक वर्षको जेठ मसान्तसम्म कुल २१ अर्ब २० करोड रुपैयाँबराबरको चामल आयात भएकोमा चालू आर्थिक वर्षको समान अवधिमा २८ अर्ब ६० करोड रुपैयाँबराबरको चामल आयात भएको देखिन्छ । आयात परिमाण भने बढेको छ । गत वर्षको ११ महिनामा ३ लाख ९७ हजार मेट्रिक टन चामल आयात भएकोमा यो वर्ष समान अवधिमा ६ लाख टन नाघेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

‘टप टेन’ आयातमा छिर्‍यो, धान–चामल

पछिल्लो तीन वर्षतयता नेपालमा सर्वाधिक आयात हुने दस वस्तु (टप टेन) आयातमा चामल परेको छ । गत आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा सर्वाधिक आयात भएका १० वस्तुमध्ये चामल सातौं स्थानमा छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कुल २४ अर्ब ६३ करोड रुपैयाँको ४ लाख ८९ हजार मेट्रिक टन चामल आयात भएकोमा गत आर्थिक वर्ष २०७६/७७ मा २२ अर्ब २४ करोड रुपैयाँ मूल्यबराबरको ४ लाख ११ हजार मेट्रिक टन चामल आयात भएको भन्सार विभागको तथ्यांकबाट देखिन्छ ।

यो वर्ष ११ महिना (साउन–जेठ)मै २८ अर्ब ६० करोड मूल्यबराबरको ६ लाख ३ हजार मेट्रिक टन चालम आयात भइसकेको छ । चामल आयातले आव २०७५/७६ मा कुल आयातको १.७४ प्रतिशत हिस्सा ओगटेकोमा गत आवमा वृद्धि भइ १.८६ प्रतिशत पुगेकोमा यो वर्षको ११ महिनामै २ प्रतिशत नाघेको छ ।

भारतको मुख्य चामल बजार नेपाल

भारतका गैर–बासमती (बासमतीबाहेकका अन्य जातका चामल) निर्यात हुने मुलुकहरूमध्ये नेपाल पहिलो नम्बरमा परेको छ भने समग्र धानचामल बजारमा नेपाल चौथो स्थानमा परेको छ । भारतीय वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष सन् २०१९/२० मा भारतबाट कुल १७ अर्ब ६६ करोड भारु बराबरको चामल नेपाल निर्यात गरिएकोमा चालू वर्ष २०२०/२१ मा यो कुल २९ अर्ब ६४ करोड भारु बराबरको चामल नेपाल निर्यात गरिएको देखिन्छ ।

भारतीय वाणिज्य विभागको निर्यात तथ्यांक र नेपालको भन्सार विभागको तथ्यांकबीच मेल खाँदैन । भारतबाट बढी परिणाममा नेपालतर्फ निर्यात भएको देखिन्छ भने भन्सार विभागको तथ्यांकमा त्योभन्दा कम आयात भएको देखिन्छ ।

भारतले यो वर्ष नेपालमा १२ लाख ७६ हजार मेट्रिक टन गैर–बासमती चामल निर्यात भएको जनाएको छ भने भन्सार विभागको अभिलेखमा यो केबल ६ लाख टन मात्रै आयात भएको देखिन्छ ।

गत वर्षको तुलनामा यो वर्षको चालम आयात झन्डै दोब्बर हो । गत वर्ष भारतले नेपालतर्फ ६ लाख ७३ हजार टन चामल निर्यात गरेकोमा यो वर्ष १२ लाख ७६ हजार टन निर्यात गरेको भारतीय वाणिज्य विभागको तथ्यांकबाट देखिएको छ ।

भारतबाट मात्रै यो वर्ष ४६ अर्ब रुपैयाँबराबरको चामल नेपालले किनेको भारतीय वाणिज्य विभागको तथ्यांकबाट देखिन्छ । भारतबाहेक नेपालले अमेरिका, चीन, भियतनाम, जापान, थाइल्यान्ड, कोरियालगायतका देशबाट चिल्याएको चामल किनेर खान्छ ।

अमिल्दो आँकडा

सरकारी औपचारिक तथ्यांकले वार्षिक औसत ४ देखि ५ लाख मेट्रिक टन चामल नेपालमा आयात भइरहेको देखाए पनि भारतले गरेको निर्यात ६ देखि ७ लाख मेट्रिक टन हाराहारीमा देखिन्छ ।

भारतको कृषि निर्यात पोर्टलका अनुसार भारतले नेपाललाई दुई प्रकारका चामल निर्यात गर्छ– उसिनेको (स्टिम) र अद्र्ध–उसिने (हाफस्टिम) । भारतले ‘साम्भा मंसुली’ जातको ‘स्टिम’ चामल नेपालतर्फ सर्वाधिक निर्यात गर्ने गरेको छ भने सुनौली बोर्डरबाट ठूलो अनुपातको चामल नेपालतर्फ निर्यात हुने गरेको छ ।

कृषि मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने कृषि उत्पादनसम्बन्धी तथ्यांकले भने देशभित्र धानको उत्पादन प्रायःजसो हरेक वर्ष बढेकै देखाउँछ । विगत तीस वर्षमा धान उत्पादन २१ लाख मेट्रिक टनले बढेको कृषि मन्त्रालयको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०४६/४७ मा नेपालमा जम्मा ३५ लाख २ हजार मेट्रिक टनमात्र धान उत्पादन भएको थियो भने चालू आर्थिक वर्ष २०७७/७८मा कुल ५६ लाख २१ हजार मे.टन धान उत्पादन हुने अनुमान छ। यो गत वर्षको भन्दा १.२७ प्रतिशत बढी हो । गत वर्ष ५५ लाख ५० हजार टन धान उत्पादन भएको थियो। गत वर्ष अघिल्लो वर्षका तुलनामा धान कम फलेको थियो। आर्थिक वर्ष २०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान फ‌लेको थियो ।

०४६/४७मा धानको उत्पादकत्व प्रतिहेक्टर २.४० मे. टन रहेकोमा हाल ३.८२ मे.टन पुगेको तथ्यांकले देखाउँछ । धानको उत्पादन र उत्पादकत्वसमेत प्रत्येक वर्ष बढिरहँदा धान-चामलको आयात बढ्नुले भने उपभोग र उत्पादनबीच असन्तुलन रहेको देखाउँछ ।

कृषि विज्ञहरू नेपालमा उत्पादित मोटा जातको धान सस्तो मूल्यमा भारततर्फ निर्यात हुने र उताबाट पुनः चिल्याइएको पातलो चामल आयात हुने गरेको बताउँछन् ।

भारतीय कृषि व्यापार पोर्टलका अनुसार सन् २०१६/१७ मा नेपालबाट १८ लाख भारु मूल्यबराबरको ४८ मेट्रिक टन गैर-बासमती धान-चामल भारत निर्यात भएकोमा सन् २०१८/१९ मा करिब ३२ मेट्रिक टन धान-चामल भारत निर्यात भयो । चालू वर्ष सन् २०२०/२१ मा ४० मेट्रिक टन धान-चामल भारत निर्यात हुँदा यसको मूल्यांकन केबल ५ लाख भारु मात्रै हुनुले कौडीका भाउमा नेपाली धान-चामल भारत निर्यात भइरहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !