७ आश्विन २०८१, सोमबार
कांग्रेस महाधिवेशन

लुम्बिनी प्रदेश सभापतिमा मेरो दाबी छ : नेता पुन

प्रकाशित मिति :  29 June, 2021 1:46 pm


काठमाडौं । नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेश सभापतिमा दाबी गरेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन नजिकदै गर्दा पुनले पनि लुम्बिनी प्रदेश सभापतिमा आफ्नो दाबी पेश गरेका हुन् । नेता पुनले लुम्बिनी सञ्चारसँग कुरा गर्दै भने,“मेरो दाबी स्वभाविक रुपमा हुन्छ, सबै साथीहरू सकारात्मक पनि हुनुहुन्छ, म छलफलमा छु ।”

नेपाली कांग्रेसले साउन १२ गतेदेखि वडा तहहुँदै भदौ १६ देखी १९ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेश अधिवेशन भदौ १ र २ गतेका लागि तोकिएको छ ।

लुम्बिनी प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका भरत साहले पनि प्रदेश सभापतिका लागि छलफल गरिरहेका छन् तर केन्द्रीय सदस्य लड्न पाउने अवसर पाए प्रदेश सभापति छोड्ने उनी निकट स्रोतको दाबी छ । लुम्बिनी प्रदेश सभापतिमा खुलेर कसैले दाबी गरेका छैनन् ।

नेता पुनले प्रदेश सभापति लड्ने भन्दै छलफल अगाडि बढाएका छन् । नेता पुनले भने,“सकेसम्म सहमतिमा जानुपर्छ भन्ने मेरो मान्यता हो, लुम्बिनी प्रदेशमा मेरो दाबी हुने नै भएपछि शिर्ष तह छलफल पनि गरिरहेको छु ।”

यसअघि कोइराला परिवार निकट मानिएका नेता पुन पौडेल पक्षधर मानिन्छन् । केन्द्रमा समेत सहमतिका लागि भूमिका निर्वाह गरिरहेका नेता पुन लुम्बिनीमा पनि सर्वसम्मत बनाउने प्रयासमा छन् ।

विगतदेखि नै नै कोइराला परिवारको निकट रहँदै आएका नेता पुन कांग्रेसका पूर्वसभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको विश्वास पात्र थिए भने पौडेल समूह व्यवस्थापनमा महत्पूर्ण भूमिका खेल्दै आएका छन् ।

अहिले पनि नेता पुनले कोइराला परिवारबाट सभापतिका आकांक्षी रहेका डा. शेखर, डा. शसाङ्क र सुजाता कोइरालालाई भेटी एक भएर आउन सुझाएका छन् ।

समयमै एकजुट भएर महाधिवेशनमा होमिए मात्र नेतृत्व लिन सकिने निष्कर्ष निकाल्दै नेता पुनले पौडेल पक्षधर लगायतका नेतालाई छिटोभन्दा छिटो साझा उम्मेदवार घोषणा गर्न सुझाव दिएको नेता पुनले बताए ।



प्रतिक्रिया दिनुहोस !