८ मंसिर २०८१, शनिबार

बेलायतबाट फर्केर कृषिमा रमाउँदै कृष्णप्रसाद

प्रकाशित मिति :  29 June, 2021 4:03 pm


अम्बिका शर्मा

केही समय शिक्षण पेशामा रहेका चितवनका कृष्णप्रसाद पौडेल बेलायत पुगे । बेलायतमा ७ वर्ष बिताइसकेपछि निष्कर्ष निकाले, “अर्काको देशमा धेरै दुःख गर्नु भन्दा आफ्नै देशमा गएर दुःख गरे राम्रो हुन्छ होला !”

बेलायतको ७ वर्षे बसाईलाई पूर्णविराम लगाएर पौडेल स्वदेश फर्के । बेलायतमै रहँदा पौडेलले नेपामा सम्भावना सम्भावनाबारे विचार गरिरहेका थिए । नेपाल फर्कने मनस्थिति बनाइरहँदा उनले कृषि क्षेत्रमा हात हाल्ने साेंच बनाइसकेका थिए । कृषिमै धरै सम्भावनाहरू देखेका पौडेलले विदेशमा गरेको ७ वर्षको मेहनत र स्वदेश फर्किएर व्यवसाय गर्ने सोचलाई साकार पार्न पौडेलले गाईपालनलाई आफ्नो रोजाइमा पारे ।

नेपाल फर्केपछि चितवन रत्ननगरमा २०७२ सालमा उनले २० ओटा गाई किनेर गाईपालन सुरु गरे । पौडेलले सुरुवातमा २० लाख तिरेर २० वटा उन्नत जातका जर्सी र होलिस्टीन जातका गाई किने, २० लाखमा गाई गोठ तयार गरे । गाईको दानापानी औषधी उपचारमा १० लाख छुट्याए । यसरी ५० लाखको लगानीमा व्यवसायिक गाईपालनमा लागेका पौडेलले भने, “मैले आफ्नो व्यवसाय सुरु गरेपछि सन्तुष्ट नै रहेँ, व्यसाय सुरु गरेपछि दिनको ३ सय लिटर दुध बेचेर व्यसायिक बजारमा निस्किएँ ।”

सुरुवाती दिनमा ३ सय लिटर दूध बेच्ने पौडेल अहिले साढे पाँच सय लिटर दूध बजारमा लैजाने गरेको बताउँछन् । पौडेल भन्छन् “धेरै सम्भावनाहरु देखेर यो व्यवसाय अंगालेको हुँ कृषिपेशामा पनि अवसरहरु छन्, अब युवाहरु पनि यस क्षेत्रमा आएर व्यवसायिकिकरण गर्नु पर्छ भने सोचले अगाडी बढेको हुँ ।”

पौडेलको कमाई मासिक साढे ६ लाख छ । तर, गाईको दानापानी, कामदारको तलब तथा बैंकको व्याज सबै खर्च कटाएर ५० हजार बचाउने गरेका छन् । गाई फर्ममा उनी मात्रै छैनन् ८ पुरुष र ४ जना महिला गरि १२ जनालाई रोजगारी समेत दिएका छन् ।

गाईपालनमा लागैसँगै पौडेल ‘पौडेल दुग्ध डेरी तथा स्टेशनरी’ खोलेका छन् । आफ्नो फार्ममा उत्पादन भएको दूध आफ्नै डेरीमार्फत बजारमा पुराउँछन् ।

साझेदारी नमुना गाईपालन कार्यक्रमले सहयोग

अब स्वदेशमै केही गर्नु पर्छ भन्ने दृढ संकल्प लिएका पौडेलले आफ्नो गाईफर्मलाई विस्तार गर्ने योजनामा लागे । बाग्मती प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले ल्याएको साझेदारी नमुना गाईपालन कार्यक्रममा २०७७ सालदेखि जोडिएको बताए ।

प्रदेश सरकारको कार्यक्रमले उनलाई फाईदा पनि पुुग्यो तर कार्यक्रम बारे उनको सुझाव छ । उनले भने, “सरकारले त किसानलाई आकर्षित गर्ने दूध उत्पादन बढाउने, गाईको संख्या बढाउने खालका योजना ल्याउनुपर्छ, पूर्वाधार निर्माणमा मात्रै अली बढी जोड दिइयो ।”

सरकारको नमुना गाईपालन कार्यक्रममा नजोडिदै उनीसँग ७०/८० ओटा गाई अट्ने फार्म थियो तर अनुदानको लागि नयाँ फार्म बनाउनुपर्ने भयो । १ करोड रुपैयाँ लगानीको जग्गा भाडामा लिएर फेरि अर्को फार्म तयार गरे ।

त्यसमा ७५ वटा उन्नत जातका जर्सी र होलिस्टीन गाई थपे । प्रदेश सरकारको योजनामा आधारित फार्म तयार भयो । अनुदान पनि माग गरे । तर प्रदेश सरकारले दिइने भनेको अनुदान आधा मात्रै पाएको उनले बताए । मन्त्रालयले दिने अनुदानमा कसरी फरक पर्याे त ? “गाईको दूध दुहुने मेसिन राख्ने घर समयमै नबनाएको भन्दै सरकारी निकायले पुरै अनुदान दिएन,” उनले थपे ।

पचास लाख रुपैयाँ दिने भनिएको अनुदान २५ लाख रुपैयाँ मात्रै पाएपछि पौडेलले केही निराशाका कुरा पनि सुनाए । मुनाफामा चलिरहेको फार्मलाई विस्तार गर्न खोज्दा व्यवसायमा धक्का लागेको समेत गुनासो गरे । मन्त्रालयले अनुदानमा वितरणमा गरेको कडाइमा पौडेल पनि परे ।

एउटा गाइफार्मबाट व्यवसाय सुरु गरेका पौडेलले सरकारको साझेदारी कार्यक्रमसँग जोडिएपछि गाइफार्मलाई ग्रिनल्याण्ड गाई फार्म प्रा.लि.मा परिणत गरेका छन् ।

अहिले उनको गाईफार्ममा ९५ ओटा उन्नत जातका गाई छन् । ४० वटा गाईले दूध दिन्छन् भने ३० ओटा ब्याउँने छन् अन्य २५ वटा बाच्छी रहेका छन् ।

४० वटा गाईबाट दैनिक साढे ५ सय लिटर दूध बजारमा जान्छ । उनले अहिले दूध बेचेर मासिक साढे १० लाख आम्दानी गर्ने गर्दछन् । कतिपय तालमेल नमिल्दा नाफामा भने अझै जान नसकेको बताए ।

त्यसो त बागमती प्रदेश सरकारले सहकारीमार्फत् अनुदान वितरण गर्ने कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राखेको छ । सरकारले नमुना गाईपालन कार्यक्रममा ५० लाख भन्दा बढिको लागतका कार्यक्रमलाई ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । चालू आर्थिक वर्षमा पनि गाईपालनमा अनुदानका अलावा प्रदेश भित्रका दूध उत्पादक किसानलाई उत्पादनमा आधारित अनुदान वितरण गर्ने कार्यक्रम लागू गरेको छ ।

कृषिमा युवाको सहभागितामा जोड

विदेश जानु भन्दा कृषि क्षेत्रमै लागेर केहि गर्न सकिन्छ भन्ने एउटा उदाहरण बनेका छन् पौडेल । कृषिमा युवा पुस्ताको सहभागिता बढ्नु धारणा उनको छ । पढेलेखेका युवाहरु कृषिमा प्रवेश गरेमा कृषिबाट समृद्धि हासिल गर्न सकिनेमा विश्वस्त छन् पौडेल ।

पौडेल जस्ता पढेलेखेका युवाहरु कृषिमा संलग्न हुने क्रम पनि पछिल्लो समयमा बढ्दो छ । कोरोना महामारीको दोस्रो लहरसम्म युवाहरु कृषिमा थपिने क्रम पनि बढेको छ । अहिले देशमा बढ्दो बेरोजगारीको अवस्थामा कृषि क्षेत्रमा पनि उद्यमका विभिन्न अवसरहरु रहेको उनले बताए ।

सरकारी अनुदानलाई सहज गराई आकर्षक योजना ल्याएमा अहिलेका युवा पुस्तालाई कृषि क्षेत्रमा ल्याउन सके पक्कै पनि कृषिक्षेत्रले कोल्टे फेर्ने थियो । विदेशमा गरिएको दुःख स्वदेशमै गर्न सके भने सुन फल्छ भन्ने भनाई पौडेलले साकार पारेका छन् ।

अहिलेको अवस्थामा कोरोना माहामारीका कारणले देश आर्थिक मारमा परिरहेको छ । लाखौं युवाहरु बेरोजगारी भएका छन् । यस्तो अवस्थामा अब युवा पुस्तालाई कृषिमा आकर्षित गराएर कृषि उद्यमका नयाँ अवसरको खोजी गर्ने बेला पनि रहेको छ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा यी विषयलाई प्राथमिकतामा राखेको छ । कार्यान्वयन पक्षमा भने बढी ध्यान दिनुपर्ने कृषक तथा उद्यमीको सुझाव छ ।

दूध अर्थात् सन्तुलीत आहार

दुधलाई पूर्ण भोजनका रुपमा लिइन्छ । बालबालिकादेखि वृद्धलाई पनि स्वास्थ्यका लागि मानिसको जन्मने बेलाको प्रथम आहार नै दूध हो । जन्मेको ६ महिनासम्म मानिसलाई दुध मात्र दिइन्छ । दुध मानिसको जीवनको महत्वपुर्ण कुरा हो । जन्मेको दिनदेखि मर्नेबेलासम्म र मरिसकेपछि पनि हाम्रो संस्कारको लागि समेत दुधको आवश्यकता पर्दछ ।

विश्व इतिहास हेर्दा पनि जो जति विश्व प्रख्यात भए ति अधिकांश व्यक्ति शाकाहारी विशेष गरि दुध सेवनलाई महत्व दिने कुराको पुष्टि भईसकेको छ । दुध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् ।

जापान, कोरिया र चीन जस्ता विकसित देशहरुमा बालबालिकाहरुलाई दुध सेवन अनिवार्य गरिएको छ । त्यस कारण त्यहाँका बालबालिकाहरुको दिमाग तेज छ र त विश्वमा हरेक कुरामा अग्र पंक्तिमा छन् । साथै अहिले विज्ञहरुको भनाइ अनुसार दुधले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले यो कोरोनाको महामारीका बेला हरेक ब्यक्तिले अनिवार्य दूध सेवन गर्ने हो भने रोग लाग्न समेत कम हुने कुरा विज्ञहरुले पुष्टि गरिसकेका छन ।

तथ्यांकमा नेपालको दुग्ध क्षेत्र

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा देशभर २३ लाख १ हजार मेट्रिक टन दुध उत्पादन भएको छ । कुल ग्राहस्र्थ उत्पादनमा दुग्ध क्षेत्रको मात्र ग्राहस्थ उत्पादन ९ प्रतिशत योगदान गरेको छ । दुग्ध क्षेत्रमा करिव ६ लाख कृषक परिवार आवद्ध छन् भने ५० हजार भन्दा बढी उद्योगस्तरमा रोजगार छ ।

दैनिक दैनिक ६ करोडभन्दा बढी रकम शहरबाट गाउँ प्रवाह गर्ने क्षेत्रको रुपमा पनि दुग्ध क्षेत्रलार्र्इं लिइन्छ । घरेलु, साना, मझौला र ठुला डेरी उद्योगहरु गरी ४ प्रकारका डेरी उद्योगहरु छन् भने देशभर करिव ७ हजार डेरी रहेको अनुमान छ । कुल दूध उत्पादनको १७ प्रतिशत हिस्सा औपचारिक क्षेत्रमा खपत भइरहेको छ भने अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत छ । ५० प्रतिशत कृषक आफैले उपभोग गर्ने गरेको पाइन्छ ।

नेपालभर ७४ लाख ५९ हजारको संख्यामा गाई रहेका छन् भने यी मध्ये दूधालू गाईको संख्या १५ प्रतिशत रहेको छ । भैंसीको संख्या ५२ लाख ५७ हजार ५ सय रहेकोमा ३० प्रतिशत दूधालु भैंसी छन् । करिव ७० हजारको संख्यामा चौरी गाई छन् । स्थानीय जातका गाईको दुग्ध उत्पादकत्व कम हुने भएकाले पछिल्ला वर्षहरुमा धेरै दूध दिने उन्नत गाईपालन गर्नेको संख्या बढ्दो छ ।



प्रतिक्रिया दिनुहोस !