३ आश्विन २०८१, बिहिबार

कृषि पर्यटनदेखि अन्तराष्ट्रिय बजारको सम्भावना बोकेको कालिज पालन

प्रकाशित मिति :  30 June, 2021 7:17 am


काठमाडौं । रामेछापको एग्रो एण्ड लाइभ स्टक प्रा.लि.का सञ्चालक रामबहादुर लामाले कालिज पालनमा आफ्नो भविष्य खोज्दैछन् । उनले देखेको सपनामा कृषि पर्यटन विकासको पनि सम्भावनासमे जोडिएको छ । सम्भावनालाई मूर्तरुप दिन उनी लागि परेका छन् ।

लामाले सुरुमै ६ सय चल्ला लिएर कालिज पालन सुरु गरेका हुन् । लामाको चासो बजारमा लगेर बिक्री गर्ने भन्दा पनि एग्रो टुरिजमसँग जोड्नु थियो । भन्छन्, “हामीले एग्रो टुरिजमको परिकल्पना गरेका छौं, त्यसैले बजारमा बिक्री गर्ने भन्दा पनि आउने पहुनाका लागि कालिज पालन सुरु गरेका हौं ।”

कालिजपालन आफैंमा नयाँ क्षेत्र पनि हो । त्यसैले कस्तो समस्या आउँछ पालकलाई बुझ्न अझै गाह्रो हुन्छ । कम अध्ययन गरेर कृषिमा लाग्नेका लागि भने उत्तिकै चुनौती भोग्नु परेको छ । यस्तो समस्या उनले पनि भोगे ।

झण्डै ६ सय चल्ला रहेको फर्ममा मालसाब्रो छिरेर अधिकांशलाई मरिदियो । ठूलो घाटा व्यहोर्नुपर्‍यो । उनी भन्छन्, “सुरुवातमै ठूलो झट्का लाग्यो नि ! झण्डै ६ सय चल्ला मारिदिँदा पर्नु पीर पर्‍यो।” लामाले फेरि २ सयको हाराहारीमा चल्ला पालेका छन् । हार मानेका छैनन् । निरन्तर लागिरहेका छन् । कृषि पर्यटन प्रवद्र्धनमा आफ्नो र मुलुकको भविष्य खोजिरहेका छन् उनी ।

कालिज पालनमै भविष्य देख्ने लामा मात्रा छैनन् । नुवाकोटको बिदुर नगरपालिका–६ स्थित रहेको आदर्श बहुउद्देश्यीय सहकारी संस्थाले पनि कालिज पालनलाई प्राथमिकतामा राखेको छ । २ वर्ष अघि चल्ला लिएर सुरु गरेको पालनले राम्रो उत्पादन सुरु गर्‍यो । पहिलो र दोस्रो पटकको प्रभाव कालिज पालनमा पनि पर्‍यो। तर कोरोनाको असरलाई थाति राख्ने हो भने सहकारीको काम सराहनीय बनेको छ ।

सुरुमै झण्डै २५ सय चल्ला उत्पादन भयो । जसबाट करिब ७ सय बिक्री भयो । सहकारीले सुरुमा आफैले १५ सय रुपैयाँ हालेर चल्ला ल्याएको थियो । लकडाउनसँगै चल्लाको भाउ घट्यो ।

अहिले मुस्किलले ५ सय रुपैयाँमा चल्ला बिक्री हुने गरेको छ । सहकारीका अध्यक्ष कृष्णप्रसाद रिमाल भन्छन्, “अहिले लकडाउनकै कारण पनि अफ्ठेरो परेको छ । नाफा नै नहुने त होईन ।”

यसरी कालिज पालनलाई प्रर्वद्धन गर्नका लागि बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहयोग पनि गरिरहेको छ । मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले आर्थिक वर्ष २०७६/७७ मा मात्रै १६ वटा फर्म,किसान तथा सहकारीलाई १० लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ ।

मन्त्रालयले अनुदान दिँदा ‘कृषि पर्यटन प्रवद्र्धन’का लागि भनेको छ । तर कालिज पालन बढ्दै जाँदा कृषि प्रवद्र्धनका लागि मात्रै होईन मासु निर्यातको सम्भावना समेत देखिएको सहकारीका संचालक बताउँछन् । चीन, कतार र भारतबाट समेत कालिजको मासुका लागि मानिसहरू सम्पर्कमा आएको सहकारीका सञ्चालक विजय श्रेष्ठले बताए ।

उनले भने, “स्थानीय बजारले मात्रै कालीज धान्दैन, राम्रोसँग उत्पादन हुने हो भने हामी निर्यात गर्न सक्छौं । लकडाउन नभएको भए कतार निर्यातका लागि कुरा भइरहेको थियो ।” श्रेष्ठले यसका लागि सरकारले पहल गरेर नियम बनाएर निर्यातको लागि बाटो खोल्नुपर्ने बताए ।

कोरोनाका कारण समस्या परे पनि सहकारी जस्तै कालिज पालनलाई कृषि पर्यटनको सम्भावना ठानेर अगाडि बढिरहेका छन्का,ठमाडौं कागेश्वरी मनहरा-८ मा कालिज पालन गरेका गोविन्द विक । उनलाई पनि बागमती प्रदेश कृषि मन्त्रालयले सहयोग गरेको छ । सरकारको सहयोगले मलमको काम गरेको महसुस उनलाई भएको छ ।

कालीजपालन गरिरहेका विकलाई चीनतर्फ कालीज निर्यात गर्ने गरेर प्रस्ताव आएको छ । उनले भने, “लकडाउनका कारण र बीचमा रोगले पनि सतायो । चीनका मानिस आएर चीन पठाउनुपर्छ भनेका थिए ।” चिनियाको प्रस्ताव एक लटमा एक हजार वटा भन्ने रहेको उनले बताए ।

चुनौतीका बाबजूद कालिज पालनबाट फाइदा छ भन्ने निष्कर्षमा विक पुगेका छन् । ४५ वटा बच्चा हालेका विकले त्यसैबाट ८ सय चल्ला बनाए । अधिकतम १२ सयसम्म पुगेको थियो । तर ६ महिना अघि रानी खेत रोगले कालीजको संख्या घटायो । विक भन्छन्, “तापक्रम मिलाउनुपर्ने रहेछ अनि यो शहरको छेउछाउ अलि नहुँने रहेछ ।

जंगलकोबीचमा चिसो हावापानी भयो भने राम्रो हुँदो रहेछ ।” ठक्कर खाँदै सिक्दै, भोग्दै अभुवभ संगाल्दै उनी अब कालिज पालन व्यवसाय सम्हाल्न सक्ने भएका छन्, कृषि पर्यटनमा भविष्य देखेका छन् ।

कालिज पालन काभ्रेपलाञ्चोकको नासिका वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रा.लि. पनि कालिजमा भविष्य देखेको कृषि उद्यम गर्ने कम्पनी हो । कम्पनीले ४ वर्षअघि कालिज पालन सुरु गरेको थियो । झण्डै ४ वर्षे अनुभवमा यसबाट फाइदा राम्रो छ । तर बचाउनु पर्ने उनको अनुभव    छ । मौसम अनुसार यसको हेरचाह गर्न सकियो भने राम्रो उत्पादन हुने प्रा.लि.का सञ्चालक उद्धव रावतले बताए ।

उनको अनुभवमा अहिले विस्तारै कालिज पालन बढ्दै गएको छ । उनले भने, “पहिले भन्दा अहिले त कालिज पालन धेरै बढेको छ । सरकारले पनि प्रर्वद्धन गरेको छ । २, ३ वटा फर्म त हाम्रैबाट चल्ला लगेर खोलेका थिए ।”

कालिजले जेठ, असार र साउन अण्डा पार्ने मध्य सिजन हो भने कात्तिक मंसिर चल्ला निकाल्ने समय । कालिज पालकहरुको अनुभव अनुसार अण्डा पनि एकैपटक र चल्ला पनि एकै पटक हुने भएकाले भद्रगोल हुन्छ र सम्हाली नसक्नुहुन्छ । त्यसैले व्यवस्थापनमा ठूलो समस्या हुने गर्छ ।

कालिज पहाडी तथा हिमाली भेगमा पाइने एक प्रकारको जंगली चरा हो । कालिज नेपाल को राष्ट्रिय चरा डाँफेको परिवारमा पर्ने चरा हो । भाले कालिज पोथीको तुलनामा अलिक रंगीचंगी हुन्छ र प्रजाति अनुसार रंग फरक फरक हुने गर्दछ ।

जंगलमा पाइने कालिज प्रतिबन्धित भए पनि हाल नेपालमा पालिने कालिज यूरोपेली जातको ‘रिङ नेक फेयसान्त’ बढी प्रचलनमा रहेको छ । हाइब्रिड तथा आयातित भएकाले अनुमति लिएर कालिजको व्यवसायिक पालन गर्न गर्न पाइन्छ ।

नेपाली बजारमा अहिले १.५ केजी कालिजको मूल्य करिब ३५ सयदेखि ४ हजार रुपैयाँसम्म जाने गरेको छ । बजारमा चल्लाको मूल्य १५ सयसम्म पर्ने गरेको छ । तर उत्पादन बढ्दा मुल्य तलमाथि हुने गरेको गरेको छ । कालिज पालकहरुको अनुभवमा, स्थानीय बजारमात्रै होईन कालीजको अन्तराष्ट्रिय बजारको समेत सम्भावना छ । यसका लागि सरकारले नीति नियम, कानूनी व्यवस्थामा सहजकरण गर्नु पर्ने, अनुदानको निरन्तरता र नियमति अनुगमनको खाँचो रहको कालीजपालनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !