७ आश्विन २०८१, सोमबार

संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका : सभामुख सापकोटा

प्रकाशित मिति :  30 June, 2021 11:59 am


काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामाथि पटक पटक हमला भएको भन्दै संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन् ।

संसद दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले भनेका छन्,“संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ ।”

मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता भएको सभामुख सापकोटाको भनाई छ ।

उनले शुभकामना सन्देशमा भनेका छन्,“संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती संघर्ष र आन्दोलनका बलमा निर्मित संविधान अनुुरुप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने छ ।”

वि.सं.२०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष आजको दिनलाई संसद दिवस मनाउने गरिन्छ ।

सभामुख सापकोटाले कोभिड–१९ को महामारीका कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरिए पनि यस दिवसको महत्व र औचित्यप्रति संघीय संसद सधै सचेत रहेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !