७ आश्विन २०८१, सोमबार

एमालेको १० औं महाधिवेशन आयोजक कमिटी विघटन, नेपाल पक्ष फर्किएला ?

प्रकाशित मिति :  30 June, 2021 3:56 pm


काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक कमिटी विघटन गरेको छ । एमालेले आयोजक समिति विघटन गर्दै साविकको केन्द्रीय समिति बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि बोलाइएको छ ।

नेकपा एमालेभित्र विवाद छ । माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि तत्कालिन नेकपा माओवादीसँग एकतागर्नुपूर्वको अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएको थियो ।

दशौं महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएसँगै माधवकुमार नेपालसहित ११ जनामाथिको कारबाही स्वतः निष्प्रभावी भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकले माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालाई स्थायी कमिटीमा मनोनयन गरेको छ भने माधव नेपाल पक्षका रघु पन्त र बेदुराम भुसाललाई पनि स्थायी कमिटी सदस्यमा राखिएको छ । रघुवीर महासेठ, विष्णु रिमाल पनि स्थायी कमिटी सदस्य बनाइएको छ ।

वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीको भनाइ छ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि जेठ २३ गते अपिल गरेका थिए ।

उक्त अपिलमा अध्यक्ष ओलीले पार्टी संगठनलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा गरेका थिए । तर नेपाल पक्षले त्यसलाई अस्वीकार गरिदियो । जेठ २ गतेको अवस्थामा फर्किएपछि मात्रै पार्टी एकताका लागि छलफल गर्न सकिने उल्लेख थियो ।

त्यसपछि पनि राजनीतिक घटनाक्रम विकसित भइसकेको छ । त्यसैले नेपाल पक्ष एकताका लागि सहजै तयार हुन्छ कि हुँदैन भन्नेबारे भने अझै अन्योल नै छ ।

 



प्रतिक्रिया दिनुहोस !