३ आश्विन २०८१, बिहिबार

बहुपक्षीय विश्व संस्थाहरूद्वारा खोप उपलब्ध गराउन संयुक्त आह्वान

प्रकाशित मिति :  1 July, 2021 11:49 am


काठमाडौ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र विश्व व्यापार संगठन (डब्लूटीओ)ले  विकासशील देशहरूमा कोरोना भाइरसको खोपको अभाव पूरा गर्नुपर्ने र त्यसका लागि आपत्कालीन पहल गर्न आह्वान गरेका छन् ।

विश्व बैंक, आईएमएफ, डब्लूएचओ र डब्लूटीओको विकासशील देशहरूको विषयमा गठित कोभिड–१९ खोप, उपचार तथा सम्बन्धी कार्यदलको पहिलो बैठकबारे संयुक्त विज्ञप्ति सार्वजनिक गरी यस्तो आह्वान गरेका हुन् । अन्तर्राष्ट्रियरूपमा महत्वपूर्ण मानिएका यी चारवटै संस्थाका प्रमुखहरूको उपस्थितिमा भएको पहिलो बैठक बसेको हो ।

धेरै देशहरू नयाँ भेरियन्ट र कोभिड–१९ संक्रमणको तेस्रो लहरको समस्याबाट जुधि रहेकाबेला वैश्विक महामारी समाप्त पार्न र बृहद् आधारको वृद्धि प्राप्त गर्न द्रुतगतिमा खोप कार्यक्रम बढाउनु निर्णायक हुने उनीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन् ।

उनीहरूले खोप, उपचार, निदान तथा सहयोगको आपूर्ति विकासशील देशहरूमा अभाव भइरहेको विषयमा गहिरो चिन्ता व्यक्त गर्दै उनीहरूले कोरोनाभाइरसले मानिसहरूको बढ्दो मृत्यु रोक्न र उन्नत अर्थतन्त्रहरू तथा बाँकी विश्वको अर्थतन्त्रमा भइरहेको विचलन रोक्न आपद्कालीन कारबाहीको आवश्यकता संयुक्तरूपमा औंल्याएका छन् ।

विकासशील देशहरूलाई कोभिड–१९ वैश्विक महामारीबाट जोगाउन आवश्यक हुने स्वास्थ्यसम्बन्धी उपकरण सहयोग गर्न र यसका लागि उपस्थिति बाधा हटाउने कार्यको पहिचान गर्ने गरि  कार्यदल गठन गरेको चारै संस्थाले जनाएका छन् ।

विश्व बैंक, आईएमएफ, डब्लूएचओ र डब्लूटीओसमेतको सहभागितामा गठित कार्यदल गठनसँगै जुन १ देखि३सम्म विकासशील देशहरूका लागि ५० अर्ब अमेरिकी डलर बराबरको योजना प्रस्ताव गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

कार्यदलको बैठकमा खोप, उपचार तथा निदानको आपूर्ति विकासशील देशहरूका लागि आपत्कालीनरूपमा गर्नुपर्ने विषयमा जोड दिइयो । बैठकमा उनीहरूले विकासशील देशहरूलाई कोभिड–१९ खोपको आपूर्तिका लागि बढी व्यवहारिक तथा प्रभावशाली बाटोको अध्ययनबारे छलफल गरेका छन् ।

आपत्कालीन पहिलो कदमको रूपमा उनीहरूले जी ट्वेन्टीका सदस्य देशहरूलाई यो वर्षको अन्त्यसम्म कम्तीमा ४० प्रतिशत जनसंख्यालाई विश्वका हरेक देशलाई खोप दिलाइ सक्नुपर्ने लक्ष्य पूरा गर्न आग्रह गर्ने भएका छन् । यस्तै, अर्को ६० प्रतिशतलाई सन् २०२२को पहिलो अर्धवार्षिकसम्म खोप दिइसक्नुपर्ने आह्वान गरिनेछ ।

दोस्रो कदमको रूपमा बढी भन्दा बढी खोपको मात्रा साझेदारी गर्न आग्रह गरिने जनाइएको छ ।  विकासशील देशहरूमा कम्तीमा १ अर्ब खोपको मात्राको सुनिश्चितता तत्काल सन् २०२१का लागि गर्नुपर्नेछ ।

तेस्रो कार्य द्रुतगतिमा बढाउन विकासशील देशहरूलाई वित्तीय सहयोग अनुदान, सहुलियत वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

चौथो कदमको रूपमा खोपका कच्चा पदार्थ तथा तयारी खोपको निर्यातमा लगाइएको सबै बन्देज हटाउन र आपूर्ति शृंखलामा लगाइएका अन्य सबै बाधा हटाउनु आवश्यकता औंल्याइएको छ ।

यसका अतिरिक्त पारदर्शीता अभिवृद्धि गर्दै न्यून तथा मध्य आय भएका देशहरूमा कोभिड–१९ खोपको विकासका लागि दानदातव्यको पहल गरी सबैलाई खोप उपलब्ध गराउन सहमति गर्नुपर्ने आवश्यकता उनीहरूले औंल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !