मनकामना स्मार्ट लघुवित्तको आइपीओ खुल्यो
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) आजदेखि बाट बिक्री खुला गरिएको छ । आजदेखि खुलेको आइपीओ असार २१ गतेसम्म भर्न सकिने कम्पनीले जनाएको छ ।
३ करोड ८९ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिए ।
प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । त्यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल धितोपत्र बोर्डले संस्थालाई असार ६ गते मात्रै सो मात्राको शेयर जारी गर्न स्वीकृति दिएको थियो । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै शेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो ।
शेयर निष्काशन गर्नका लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बि माइनस’ रेटिङ प्रदान गरेको छ । जसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । उक्त रेटिङको अवधि जारी मितिबाट एक वर्षसम्म हुनेछ ।