३ आश्विन २०८१, बिहिबार

पशु आहार उत्पादनमा अन्नपूर्ण सहकारीको सफलता

प्रकाशित मिति :  1 July, 2021 5:10 pm


अनिल सापकोटा– 

काठमाडौं । पछिल्ला वर्षहरुमा कृषिमा युवाहरुको आकर्षण बढ्दो छ । व्यवसायीक कृषिमा लाग्न चाहनेका लागि पहिलो आकर्षण बन्ने गरेको छ पशुपालनको क्षेत्र । तर, पशुपालनमा पनि उत्पादन लागत बढी हुँदा नाफा आर्जन गर्नु चुनौतिपूर्ण बन्दै गएको पनि छ ।

उत्पादन लागत बढ्नुमा महंगो दानामात्र नभइ घाँसमा मात्र नभइ पूर्णतः दानामा मात्र आधारित हुनु पनि एक रहेको विज्ञहरुको बुझाइ छ । आयातित दाना, मूल्य बढ्ने टुंगो नहुने समस्या ।

यस्तै समस्या भोग्दै आएका सयौं किसानमध्ये चितवनको भरतपुर महानगरपालिकाका किसान थिए ।अन्नपूर्ण दुग्ध उत्पादन सहकारीमा आवद्द धेरै किसानले पहिलेदेखि सहकारीकै दाना खुवाउदै आएपनि एक वर्ष यता भने त्यस क्षेत्रका सहकारी आवद्द नभएका किसानहरुले पनि सहकारीले उत्पादन गर्दै आइरहेको पोषणयुक्त दाना खुवाउने गरेका छन्।

बजारबाट ल्याएको दानाले लागत मात्र बढ्ने गरेको तर पशुको पाचन प्रणालीमा पनि समस्या हुने गरेको किसानहरुको भनाइ छ । उत्पादनमा पनि अपेक्षाकृत नहुँदा भने किसान निराश बन्ने अवस्था थियो । अन्नपूर्ण सहकारीले सञ्चालन गरेका दाना उद्योगबाट हाल उत्पादित दानामध्ये करिब ७० प्रतिशत दाना बाहि। बिक्री हुने गरेको छ ।

कतिपय दानहरु गुणस्तरहीन नै हुने गरेकाले पनि उत्पादनमा असर गरेको निश्कर्ष निकाल्दै किसानहरू आफै दाना उद्योग सञ्चालन गर्ने निर्णयमा पुगे । यसका लागि अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थाबाट अगाडि बढ्ने निर्णय गरियो । २०६० सालमा सहकारीले आफ्नै दाना उद्योग सञ्चालनमा ल्यायो ।

स्थानीय कच्चा पदार्थ, प्रतिघण्टा ५० क्वीन्टल उत्पादन

सहकारीले २०६० सालबाटै दाना उद्योग चलाउदै आएपछि गत वर्षबाट सहकारीकै जग्गामा नेदरल्याण्डको नयाँ प्रविधि जडित दान उद्योग स्थापना गर्यो । पुरानो दाना उद्योगबाट थोरै मात्र उत्पादन भएकोमा एक वर्षयता नियमित संचालनमा रहेको नयाँ उद्योगले प्रतिघण्टा ५० क्विनटल उत्पादन क्षमता राख्दछ । उद्योगबाट तयार हुने दाना उक्त सहकारीमा आवद्ध ६ सय ५० सदस्य किसानले नियमित प्रयोग गर्दै आएका छन् । आफ्ना सदस्य मात्र नभएर सो क्षेत्रका गैर सदस्य किसानलाई पनि सहकारीले दाना विक्री गरिरहेको छ । ३० प्रतिशत उत्पादनले सरकारीमा आवद्द किसानलाई पुग्गे गरेको र बाँकी ७० प्रतिशत बाहिर बिक्री हुने गरेको अध्यक्ष चापागाईंले जानकारी दिए ।

सहकारीका अध्यक्ष ऋषिराम चापागाई भन्छन्, “परिमार्जन गरेर खोलिएको नयाँ उद्योगबाट दाना उत्पादन गर्न थालेपछि दोहोरो फाईदा भएको छ।”

चापागार्इंका अनुसार गत साउन यता मात्रै सहकारीले सञ्चालन गरेको दाना उद्योगबाट करिब ५ करोड रुपैयाँको दाना बिक्री भइसकेको छ । “अहिलेको अवस्थामा पनि हामीसँग एक हजार टन दाना उत्पादन भई बिक्रीका लागि तयारी अवस्थामा छ, दाना उद्योग सहकारीद्वारा सञ्चालन गरिए पनि सहकारीमा आबद्द नभएका अन्य किसानलाई पनि विभेद नगरी एउटै मूल्यमा दाना बिक्री गरिरहेका छौं,” उनले अनुभव सुनाए ।

आफूहरूकै सहकारीले दाना उत्पादन गर्न थालेपछि विगतमा यस भेगका अन्य किसानहरुले भोग्दै आएको दाना अभाव र अस्वभाविक मूल्य बृद्धीको शिकार बन्न नपरेको अध्यक्ष चापागाईंको अनुभव छ । “हामीले शुद्ध दूध पाउनका लागि किसानका पशुहरु पनि स्वास्थ्य हुन जरुरी छ र दूध दिने पशुका लागि दाना अत्यन्तै महत्वपूर्ण तत्व हो,” अध्यक्ष चापागाईले भने, “ हामीले नयाा प्रविधीको उद्योगबाट  दाना उत्पादन गर्न थालेपछि पशुलाई १८ प्रतिशत सम्म प्रोटिन भएको स्वस्थकर दाना खुवाउन पाइरहेका छौँ ।”

सहकारीले सञ्चालन गरिरहेको दाना उद्योगबाट दूध दिने लैनो गाईभैंसीलाई १८ प्रतिशत सम्म प्रोटिन राखेर प्रतिकेजी ४० रुपैँयाका दरले र अन्यलाई पशु चौपायालाई तुलनात्मक रुपमा प्रोटिनको मात्रा घटाएर प्रतिकेजी ३३ रुपैँयाका दरले दुई थरिको दाना उत्पादन गरी बिक्री भईरहेको छ । पशु स्वास्थ्यमा देखिने समस्या पनि घटेर गएको छ ।

सहकारीले सञ्चालन गरिरहेको दाना उद्योगबाट दूध दिने लैनो गाईभैंसीलाई १८ प्रतिशत सम्म प्रोटिन राखेर प्रतिकेजी ४० रुपैँयाका दरले र अन्यलाई पशु चौपायालाई तुलनात्मक रुपमा प्रोटिनको मात्रा घटाएर प्रतिकेजी ३३ रुपैँयाका दरले दुई थरिको दाना उत्पादन गरी बिक्री भईरहेको छ । पशु स्वास्थ्यमा देखिने समस्या पनि घटेर गएको छ ।

दाना बनाउनका लागि आवश्यक कच्चा पदार्थ स्थानीय स्तरमै जोहो भइरहेका छ । “स्थानीय स्तरकै किसानबाट दाना बनाउन चाहिने गहुँ, मकै लगायतका अन्न खरिद गर्ने गरेका छौँ,” उनले भने, “अन्य आवश्यक कच्चा पदार्थमा पनि यतैका मिलहरूबाट उठाउने गरेका छौँ ।”
सहकारीले दाना उद्योग सञ्चालन गर्ने तयारी गरेपछि सहयोगी बन्यो, बागमती प्रदेश सरकार । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १ करोड रुपैयाँको अनुदानमा थप करिब १ करोड ५० लाख रुपैयाँ लगानी गरेर दाना उद्योग संचालनमा सहजता थपिएको हो ।

साइलेजदेखि भेटनरीसम्मको सेवा सहकारीबाटै

२०४१ सालमा स्थापना भएको अन्नपूर्ण दुग्ध उत्पादन सहकारी बागमती प्रदेशको नमूुना सहकारी बनेको छ । किसानका दुग्ध संकलन गरेर बिक्री कार्यबाट सुरु भएको सहकारीले किसानलाई सहजताका साइलेज बनाउने मेसिनदेखि आफ्नै भेटनरीसम्म सञ्चालन गरिरहेको छ ।

६० लाख रुपैँया लगानी गरेर साइलेन मेसिन भित्राएको सहकारीले १ करोड रुपैयाँ भन्दा बढीको साइलेज उत्पादन गरिसकेको छ । घाँसको सिजनमा स्थानीय स्तरमा घाँस खरिद गरी सहकारीले आफै साइलेज बनाएर बिक्री गरिरहको छ । सहकारीले बनाएको साइलेज काठमाडौंँ उपत्यका, सिन्धुलीदेखि नेपालगञ्जसम्म बिक्री गरिएको अध्यक्ष चापागाई बताउछन् । “तयार गरिएको साइलेज १२ रुपैँया प्रतिकेजीका दरले मागअनुसार देशका विभिन्न जिल्लाहरुमा बेचिरहेका छौैँ,” उनले भने ।

सहकारीले अहिले आफ्नै गाई फर्म सञ्चालन गरिरहेको छ । फार्मका सबैको बिमा गरिएको छ । फार्मबाट उत्पादन हुने दूध सहकारीमा बिक्री हुन्छ । सहकारीमा आबद्घ किसानलाई पशुचौपायाको उपचारमा सहज होस भन्ने हेतुले सहकारीले आफ्नै भेटेनरी समेत सञ्चालन गरिरहेको छ । किसानलाई बचत तथा ऋण धनका लागि सहकारीको आफ्नै बचत तथा ऋण सहकारी समेत सञ्चालनमा छ ।

किसानहरुलाई ऋण चाहिंदा बिना धितो सहकारीबाटै दिने व्यवस्था मिलाईएको अध्यक्ष चापागाई बताउछन् । सहकारीको दुग्ध उत्पादन सहकारी, गाई फार्म, दाना उद्योग, साइलेज निर्माण, बचत तथा ऋण सहकारी, भेटनरी गरी ६ वटा विधामा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारीले प्रदेश मन्त्रालयसँग समन्वय गरेर समय समयमा किसानका लागि आवश्यक विभिन्न घाँसका बीउबिजन अनुदानमा बिक्री वितरण गर्दै आइरहेको छ ।

कोरोना महामारीको दोस्रो भेरियन्टको निषेधाज्ञामा भने सहकारीको नियमित कार्यहरुमा बाधा पुग्यो । किसानको दुध बिक्री ६० प्रतिशत सम्मले घटेपछि १८ दिनको दुधलाई चितवन मिल्क र सुजल डेरी पोखरामा पाउडर दूध बनाएर किसानलाई दिईएको छ । जसले गर्दा धेरै दूध उत्पादन गर्ने फार्महरु मर्कामा परेका छन् ।

के हो साइलेज?

हरियो घाँसलाई खाडलमा खाँदेर अमिल्याई राखिएको ९फर्मेण्टेशन० गरिएको घाँसलाई साइलेज भनिन्छ । गुन्द्रुक अथवा सिन्की जस्तै गरेर बनाइने हुँदा साइलेजलाई गुन्द्रुक घाँस वा सिन्की घास पनि भन्ने गरिन्छ । हरियो घाँसमा भएको पशुहरुलाई चाहिने पौष्टिक तत्वहरु साइलेजमा पनि लगभग कायमै रहने भएको हुँदा यो हरियो घाँस जत्तिकै रसिलो र पोषिलो हुन्छ ।

साइलेज बनाउने उपयुक्त घाँसहरु साइलेज वर्षायाममा प्रशस्त हुने मकै, ज्वार, टियोसेण्टी, बोडी, नेपियर आदि तथा स्थानीय कुनै पनि घाँसबाट बनाउन सकिने भए तापनि प्रोटीन भन्दा कार्बोहाइड्रेट बढी पाइने घाँसहरुबाट साइलेज बनाउन उपयुक्त हुन्छ । अम्लियपन ३ दशमलव ८ देखि ५ प्रतिशत सम्म भएको साइलेजलाई राम्रो मानिन्छ ।

साइलेज बनाउनका लागि घाँस उपयुक्त समयमा काट्नुपर्दछ । यदि घाँसलाई उपयुक्त समयमा काटिएन भने साइलेजको उत्पादन तथा गुणस्तरमा फरक पर्न जान्छ । वर्षायाम तथा हिउँदमा प्रशस्त मात्रामा उत्पादन हुने घासहरुको साइलेज बनाउनका लागि काट्ने उपयुक्त समय मकै, जै, ज्वारमा गेडामा दूध पसेको बेला र टियोसेण्टीमा ५० प्रतिशत बोटमा फूल फुलिसकेपछि र स्थानीय घाँसहरुलाई फूल फल्ने बेलामा काट्न उपयुक्त हुन्छ । साइलेज प्रणाली विश्वमा उपयुक्त मानिन्छ । नेपालमा पनि प्रयोग हुन थाल्यो ।

उत्पादनमा आधारित दुधमा अनुदानले किसानलाई राहत

बागमति प्रदेशको कृषि मन्त्रालयले केही वर्षयता निरन्तर सञ्चालन गरिरहेका उत्पादनमा आधारित दुधमा अनुदान कार्यक्रमले किसानलाई थप राहात दिएको छ । किसानहरुका नाममा गैरकिसानले समेत कागजात बनाएर अनुदान लिइरहेको भनेर आलोचना भइरहदा उत्पादनमा आधारित दुधमा अनुदान सबै उत्पादकको हातमा पुग्ने हुनाले प्रभावकारी र वैज्ञानिक भएको अध्यक्ष चापागाईंको बुझाई छ । प्रदेश सरकारले केहि वर्षयता किसानलाई दुधमा प्रतिलिटर २ रुपैँया अनुदान दिदै आइरहेको छ ।

यस अनुदान कार्यक्रममार्फत वास्तविक किसान प्रत्यक्ष लाभान्वित भएका छन् उनले भने, किसानले सहकारीमा संकलन गर्ने दुधमा प्रलिलिटर २ रुपैँयाका दरले थप अनुदान पाउँदा किसानलाई राहात मिलेको छ । भरतपुर महानगरले समेत चालू आर्थिक वर्षमा प्रतिलिटर थप १ रुपैया अनुदान दिएको चापागाईंले बताए ।

चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट र भरतपुर महानगरबाट उत्पादनमा आधारित अनुदान वापत आएको ५६ लाख ७७ हजार असार १६ गते नै सबै किसानको खातामा पठाइसकेको चापागाईंले जानकारी दिए ।

आगामी आर्थिक वर्षमा उत्पादनमा आधारित दुधमा अनुदानलाई २ सय प्रतिशत बढाएर प्रतिलिटर ३ रुपैँयाका दरले अनुदान पाउने भएका छन् भने बागमती प्रदेश सरकारले पनि यो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । आगामी आर्थिक वर्षमा अन्नपूर्ण सहकारीमा दुध बिक्री गर्ने किसानले कम्तिमा प्रतिलिटर ५ रुपैयाका दरले उत्पादनमा आधारित अनुदान पाउने भएका छ ।

 



प्रतिक्रिया दिनुहोस !