१० मंसिर २०८१, सोमबार

हेटौंडामा प्रादेशिक कृषि बजार स्थल निर्माण सुरु,२८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागत

प्रकाशित मिति :  2 July, 2021 11:27 am


काठमाडौं । बागमती प्रदेश राजधानी हेटौंडामा प्रादेशिक कृषि थोक बजार स्थल निर्माण सुरु भएको छ ।

बागमती प्रदेश सरकारको महत्वपूर्ण आयोजना मध्येको प्रादेशिक कृषि बजार निर्माणको आज मुख्यमन्त्री डोरमणि पौडेलले शिलन्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दे मुख्यमन्त्री पौडेलले भने,“यो हेटौंडावासीका लागि गौरवको काम हो, यहाँबाट प्याकेजिङ गरेको तरकारी देशका सबै जिल्ला र बिदेशमा समेत लैजान सकिने छ, कोल्डस्टोर्स सहित कृषि सुपर मार्केट निर्माण हुँदा सबैलाई सहज हुने छ ।”

कुनैपनि बहानामा कृषि थोक बजार निर्माणको काममा ढिलाइ नगर्नका लागि मुख्यमन्त्री पौडेलले निर्देशन दिए । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले समय अगावै काम सकेर पुरस्कार लिन आग्रह गरे । कृषि थोक बजार निर्माणमा मन्त्रालयको तर्फबाट कुनै पनि बाधा हुन नदिने र सहयोग गर्ने मन्त्री लामको प्रतिबद्धता थियो ।

हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा कृषि बजार स्थल निर्माण हुने छ ।

कृषि विकास निर्देशनालय तथा हेटौंडा उपमहानगरपालिकाको साझेदारीमा ३ वर्ष भित्र आधुनिक सुविधा सम्पन्न कृषि बजार स्थापना गर्न लक्ष्य राखिएको बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी सचिव डा. मतिना जोशी बैद्यले जानकारी दिइन् । बजार स्थापनापछि यस क्षेत्रको कृषि उपज बजारीकरणमा टेवा पुग्ने सचिव बैद्यको भनाई छ ।

२८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण हुने कृषि थोक बजार अन्तराष्ट्रिय स्तरको हुने बागमती प्रदेश सरकारको दाबी छ ।

२ बिगाहा ४ धुर क्षेत्रफलमा कृषि थोक बजार निर्माण हुन लागेको हो । यसका लागि बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारी रहेको छ ।

थोक बजार स्थापनापछि कृषि बजारहरूमा उपयुक्त भण्डारण, सित भण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतको सुविधाहरूको अपर्याप्तता र अभाव जस्ता समस्याको अन्त्य हुने विश्वास गरिएको छ ।

थोक बजारले कृषकहरूले न्यून मूल्य पाउने, उपभोक्ताले चाहे अनुसार गुणस्तरीय उपज नपाउने र उपभोक्ता र फार्म गेट मूल्यको अन्तर बढि हुने समस्याको समेत समाधान गर्ने अपेक्षा गरिएको सचिव बैद्यको भनाई छ । कृषि थोक बजार निर्माण भइसकेपछी हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ ।



प्रतिक्रिया दिनुहोस !