९ माघ २०८१, बुधबार

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न डा. केसीको माग

प्रकाशित मिति :  2 July, 2021 12:56 pm


फाईल फोटो

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीले बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै डा. केसीले वर्तमान सरकारले नियुक्त गरेका उपकुलपति ज्ञानेन्द्र गिरीसहित रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकलाई बर्खास्त गर्न माग गरेका हुन् ।

डा. केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्,“ अवस्था यतिसम्म भइसकेपछि बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरुले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेका छन् । त्यसैले उनीहरुले तत्काल पद खाली गर्नुपर्छ र पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिए अनुसार दलीय वफादारिता नभई वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्छ ।”

पूर्वी नेपालको स्वास्थ्य सेवा तथा देशकै मेडिकल शिक्षाको धरोहरका रुपमा स्थापना भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले धराशायी हुने संघारमा पुगेको भन्दै डा.केसीले त्यसको कारण दलीय वफादारिताका आधारमा पदमा पुग्ने नालायक र भ्रष्ट पदाधिकारीहरु रहेको आरोप लगाएका छन् ।

डा. केसीका अनुसार वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान साधारण ल्याब परीक्षण, एक्सरे, अल्ट्रासाउण्ड, सिटी र एमआरआइजस्ता जाँच गर्न नसक्ने अवस्थामा पुगेको छ ।

संस्था वर्षेनी अरब घाटामा रहँदा आम बिरामी वर्षेनी दुई अर्बभन्दा बढी रकम निजी अस्पतालहरुमा खर्च गर्न बाध्य भएको र प्रतिष्ठानमा आउने बिरामीहरु र त्यहाँ अध्ययनरत विद्यार्थीहरुको उत्तिकै बिचल्ली रहेको उनको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !