७ आश्विन २०८१, सोमबार

सर्वोच्चमा बुझाइएको हस्ताक्षर २ दिनभित्र फिर्ता लिन आफ्ना नेतालाई एमालेको निर्देशन

प्रकाशित मिति :  2 July, 2021 1:54 pm


काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा गरिएको हस्ताक्षर फिर्ता लिन दुई दिनको समय दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटी बैठकले आफ्ना २३ सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो ।

संसद विघटन विरुद्ध परेको मुद्दामा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । उनीहरूको हस्ताक्षरित निवेदनमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग समेत गरिएको छ ।

नेकपा एमालेले यसअघि १० औं महाधिवेशन आयोजक कमिटी विघटन गर्दै नवौं महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

यद्यपी माओवादी केन्द्रबाट आएका नेतालाई पनि स्थायी कमिटी र केन्द्रीय कमिटीमा यथावत राखेपछि माधव नेपाल पक्ष बैठकमा सहभागि भएन । उपाध्यक्ष बामदेव गौतम भने बैठकमा सहभागि भएका छन् ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आफूले सबै प्रयास गरेको बताएका छन् । उनले आजको प्रमुख आवश्यकता पार्टी एकता रहेकोमा जोड दिएका छन् । उनले एकताका लागि आफूले सार्थक पहल गरिरहेको जानकारी पनि दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !