४ आश्विन २०८१, शुक्रबार

बंगुर पालनले उत्साहित चन्द्रबहादुर,फैलाउँदै योजना

प्रकाशित मिति :  2 July, 2021 6:36 pm


लक्ष्मी ज्ञवाली

सिन्धुली । आफ्नै माटोमा केही गर्छु भन्ने अठोटका साथ सिन्धुलीको कमलामाई –५ का चन्द्रबहादुर पुलामीले बंगुर पालन व्यवसाय सुरु गरेका १५ बर्षभन्दा बढि भयो ।

यस अवधीमा उनले बंगुर पालन व्यवसायबाट कति नाफा आर्जन गरे त्यसको उनीसँग हिसाब त छैन तर चन्द्रबहादुर आफ्नो व्यासायबाट भने सन्तुष्ट छन् । बंगुरपालनबाटै धेरैथोरै जग्गा जमिन जोडेका उनले राम्रो आम्दानी पनि गरेका छन् ।

बंगुर पालनमा मन तानिएपछि चन्द्रबहादुरले २०६२/६३ को आन्दोलन मत्थर भएपछि व्यवसायिक रुपमा बंगुर पालन व्यवसाय सुरु गरेका थिए । ३० वटा बंगुरको बच्चा लिएर व्यवसाय सुरु गरेर यस क्षेत्रमा होमिएका चन्द्रबहादुर आफ्नो १५ वर्षको अनुभवलाई विशाल रुप दिदैँ छन् । नयाँ योजनाका साथ व्यवस्थित खोर बनाएर ठूलो बंगुर फार्म सञ्चालनमा ल्याउने तयारीमा छन्, उनी ।

एकवर्ष अघिसम्म उनको फार्ममा २ सय वटा बंगुर रहेकोमा अहिले उनको फार्ममा ५० वटा बंगुर मात्रै छन् । यसको कारण भने मानव वस्ती नजिक नभएको ठाउँमा सार्ने तयारीमा रहेकाले हो । “समाजमा बसेपछि आफ्नो मात्र स्वास्र्थ हेरेर हुदैन, गाउँलेको स्वास्थ्य पनि मध्येनजर गर्नुपर्‍यो”, चन्द्रबहादुरले भने,“सिंगै फार्म सार्नका लागि जग्गा किनेर खोरहरू बनाइरहेको छु, कार्तिक पछि उतै सार्ने योजनामा छु ।”

डेढ दशक बंगुर पालन पेशामा बिताएका चन्द्रबहादुरका तीतामिठा अनुभव छन् । बंगुर राम्ररी सप्रिदा महिनामै १ लाख रुपैयाँ भन्दा बढी कमाएको मिठो अनुभवदेखि सामान्य उपचार समेत नपाएर बंगुर मरेको तीतो अनुभव उनीसँग छ । गाउँघरमा समयमा पैँसा नउठ्ने समस्या पनि उनले भोगीरहने समस्या हो । तर नमिठा अनुभवलाई चन्द्रबहादुर वेवास्ता गर्छन् अनि बंगुर पालनमै भविष्य देख्छन् ।

समय समयमा उत्पादित बंगुरले बजार नपाएका समाचारबारे चन्द्रबहादुर जानकार नै छन् । यहि समस्या भोग्न नपरोस भनेर उनले बंगुर पालन सुरु गरेको केहि वर्षपछि मासु पसल पनि खोलेका थिए । अहिले पनि त्यसलाई निरन्तरता दिएका छन् ।

आफ्नै उत्पादन आफैले बेच्ने मेसो मिलाउन सके बंगुल पालनबाट मनग्य आम्दानी हुने चन्द्रबहादुरको अनुभव छ । “आफैले मासु काटेर बेच्न थालेपछि मलाई कुनै पनि दिन बजारको चिन्ता भएको छैन,” उनले भने, “पछिल्लो समय त म रामेछाप सम्म पुगेर बंगुर ल्याएर बेच्ने गरेको छु । घरको उत्पादन त बिक्री गर्ने मासुको एक तिहाइ पनि छैन् ।”

देशमा संघीयता आएपछि सरकारले पशुपालक तथा किसानलाई हेर्ने नजर सकारात्मक बन्दै गएको उनको अनुभव छ । स्थानीय तहले आफ्नो व्यसायमा सहयोग पु¥याएको उनले बताए । उनका अनुसार अहिले नगरपालिकाले बंगुरलाई निशुल्क खोप लगाइदिने गरेको छ भने बंगुरलाई चाहिने विभिन्न औषधीहरुसमेत निशुल्क उपलब्ध गराउदै आएको छ । पहिला बंगुरको बिमा गर्नै नमान्ने परिपाटी पनि केही वर्षयता घटेको उनले बताए । यद्यपी सतप्रतिशत पशु बिमा भने अझ लागू नभएको उनी बताउछन् ।

गत वर्ष बागमती प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयबाट ५ लाख रुपैयाँ अनुदान पाएका चन्द्रबहादुरले १० वटा साना खोर बनाएर व्यवसाय विस्तार गरेका थिए । काम गर्दै गएपछि सरकारी निकायले समेत सहयोग गर्ने रहेछन् भन्ने उनको बुझाई छ । आफ्नै मासु पसल भएपछि बजारको समस्या नहुने, समयमै पशु उपचार पाइने, दाना सहज रुपमा किन्न पाइने, बिमा गर्न सहज भएपछि चन्द्रबहादुरले बंगुर पालनमै ध्यान दिएका छन् ।

फार्ममा उत्पादित बंगुरको बजार समस्या झेल्न नपरेपछि चन्द्रबहादुरले आउदो कार्तिक महिनापछि कम्तिमा २ हजार बंगुरको बच्चा ल्याएर सुरु गर्ने योजनामा छन् । अहिले चन्द्रबहादुरको दैनिकी नयाँ फार्म निर्माणको निरिक्षणमै बित्ने गरेको छ । नयाँ बंगुर फार्मका लागि आवश्यक जग्गा बंगुर पालनकै फाइदाबाट किनेको उनले बताए । अन्य विभिन्न क्षेत्रका बंगुर फार्महरु निरिक्षण गरेका चन्द्रबहादुर आफ्नो खोर कसरी व्यवस्थित बनाउने भन्नेमा लागीपरेका छन् । खोर व्यवस्थित बनाउन सके थोरै जनशक्ति परिचालन गरेर धेरै बंगुर पालन गर्न सकिने उनको अनुभव छ ।

गाउँ बढ्दै भएपछि चन्द्रबहादुरको बंगुर फार्म त सर्ने भयो तर त्यसले अर्काे बाटो खोलिदिएको छ । त्यो हो बाख्रापालन । अहिले चन्द्रबहादुरले बाख्रा पालनमा पनि जोड दिएका छन् । उनले घरमा अहिले कुल ५० भन्दा बढी खसी, बाख्रा पालेका छन् । अब चन्द्रबहादुर नयाँ फार्मबाट बंगुर र घरबाट बाख्रा पालनलाई निरन्तर लैजाने निधो गरेका छन् ।

डेढ दशक पशुपालनमा रमाएका चन्द्रबहादुरले किसानलाई अनुदान भन्दा न्यून ब्याजदरमा ऋण पाए आफ्नो व्यवयवाय छिटो अगाडी बढाउन सकिने बताउछन् ।

“ऋणले मानिसलाई भित्री दवाद दिने रहेछ,” उनले अनुभव सुनाए, “किस्ता तिर्नुपर्ने भएपछि आफ्नो काममा लाग्नुको विकल्प हुदैन, जसले गर्दा छिटै सफल भइन्छ ।”

औषधी उपचारको विगतका तुलनामा राम्रो हुदै गएकोमा उनी खुसी छन् । आफूले पालेका पशुहरुको सतप्रतिशत बिमा गर्न सकिए बिपद् आएपनि पलायन हुन नपर्ने उनको अनुभव छ ।

 



प्रतिक्रिया दिनुहोस !