३ आश्विन २०८१, बिहिबार

अविरल वर्षाको कहरले ठाउँ ठाउँ डुबानमा

प्रकाशित मिति :  3 July, 2021 4:07 pm


काठमाडौं । गए रातिदेखि आएको निरन्तर वर्षाका कारण देशभरि नै डुबानका कारण ठूलो क्षति भएको छ । खासगरी पूर्वी क्षेत्रमा डुबानको समस्या बढी देखिएको छ । सप्तकोशी नदीका सहायक नदीहरूमा बहाव बढेका कारण कोशी ब्यारेजमा खतराको सूचक टाँसिएको छ ।

उदयपुरको विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेस्वरी, आम्बासी र भागलपुरका पाँच सयभन्दा बढी घर डुबानमा परेको छ । बाढीपीडितको उद्धारका लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

 

तपेस्वरीको बगाहा र आम्बासीका खहरे खोलामा गए राति आएको बाढी गाउँबस्तीमा प्रवेश गर्दा अहिले सो क्षेत्रमा तीन फिटसम्म पानी जमेको तपेस्वरीका जसबहादुर श्रेष्ठले जानकारी दिए ।

स्थानीयवासी राजकुमार भुजेलका अनुसार ती खोलामा आएको बाढीले तपेस्वरी क्षेत्र डुबानमा पर्नुका साथै जग्गा कटान गर्न थालेको छ । स्थानीय खोलाहरुमा आएको बाढी गाउँघरमा प्रवेश गर्न थालेपछि स्थानीयवासीलाई सर्तकता अपनाउन आग्रह गरिएको र बाढीपीडितको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सीलाका प्रमुख तेजबहादुर कटुवालले बताए ।

निरन्तर वर्षाले बेलकाको गिदेरी खोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमा समेत क्षति पुगेको छ । त्यस्तै त्रियुगा नगरपालिका—११ गाइघाटस्थित बरुवा खोलामा आएको बाढीले कच्ची बाँध भत्किन सक्ने र गाइघाट बजारसमेत डुबानमा पर्न सक्ने जोखिम बढेको त्रियुगा नगरपालिका—११ ढिम्कीका शिब कार्कीले बताए ।

बाढीले बगाउँदा ६५ वर्षीय वृद्धको मृत्यु

उदयपुरको चौदण्डी गढी नगरपालिकाको सातधारेस्थित हवार खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेल्टार मदनचौकका ६५ वर्षीय गुमसेर राई रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । अर्का गाउँ जानका लागि खोला तर्ने क्रममा उनलाई आज बिहान १० बजेतिर बाढीले बगाएको थियो ।

बाढीले बगाएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी बेल्टारबाट खटिएको प्रहरी र स्थानीयवासीले उनलाई व्यापक खोजी गरिएको थियो । खोजीका क्रममा बगाएको स्थानभन्दा दुई सय मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पोष्टमार्डमका लागि शवलाई बेल्टार अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

सुनसरीको दक्षिण क्षेत्र डुबानको जोखिममा

यसैगरी, लगातारको वर्षा भएपछि सुनसरीका दक्षिण क्षेत्रका अधिकांश गाउँ बाढीको उच्च जोखिममा परेका छन् ।  सुनसरीको भोक्राहा, इनरुवाको वडा नं ४ को मरिक बस्ती ढुवानमा परेका छन् । यस्तै ट्याङ्ग्रा खोला पसेर इटहरीको खनारलाई डुबाएको छ ।

अहिलेसम्म ठूलो समस्या नभए पनि यही अवस्थामा निरन्तर वर्षा भइरहेमा जिल्लाका धेरै स्थानका बासिन्दा विस्थापित हुन सक्ने सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले बताए। बुढी खोला, ट्याङ्ग्रा खोला, खेती खोलामा आएको बाढीले बस्तीमा पसेपछि इटहरीका वडा नं ८, १० र ११ डुबानमा परेका छन् । नदी तथा खोला किनारका स्थानीवासीलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा बहाब उच्च भएको छ । शनिबार बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ६५५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २९ वटा ढोका खुला गरी पानीलाई निकास दिएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताए । । कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म पानीको बहावलाई सामान्य मानिन्छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ ।

२०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुदाँ सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५६३ परिवार विस्थापित भएका थिए ।

सप्तरीका आधा दर्जन गाउँ उच्च जोखिममा

केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् । बाढीका कारण तिलाठी कोइलाडी, लोनीयाँ, सकरपुरा, रम्पुरामल्हनीयासहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीश सिंहले जानकारी दिए ।

चुरे क्षेत्र हुँदै बग्ने खाँडो नदीको बाढीले प्रत्येक वर्ष सप्तरीको दक्षिण भेगका अधिकांश गाउँ डुबान र कटानमा पर्ने गरेको भन्दै उनले नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरे ।

खाँडो नदी तटवन्धको काम केही ठाउँमा अधुरो रहेकाले कुनै पनि बेला बाढी तिलाठी कोइलाडीमा आउन सक्ने र गाउँपालिकाका अधिकांश घर डुबानमा पर्न सक्ने जोखिम रहेको स्थानीयवासीको भनाइ छ । २०७३ सालको बाढीले तिलाठी कोइलाडी गाउँपालिका—४ का एक बालकको ज्यान लिएको थियो भने हजारौं घरमा क्षति पुर्याएको थियो ।

त्यस्तै महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायत दर्जनौं खोलामा आउने बाढीले हरेक वर्ष सप्तरीको अधिकांश गाउँ डुवानमा पर्दा ठूलो धनजानको क्षति हुने गरेको पाइएको छ । यस्तै सप्तरीको सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कंकालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाईर कृष्णासवरण, महेदवा, तिरहुत, रुपनी गाउँपालिकाका दर्जनौं गाउँबस्ती प्रत्येक वर्ष वर्षाको समयमा बाढी आउँदा डुवानमा पर्ने गरेको पाइएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस !