७ आश्विन २०८१, सोमबार

बाढीपहिरोले घरमा क्षति पुगेका परिवारलाई रु. ५० हजारका दरले राहत दिइने

प्रकाशित मिति :  4 July, 2021 2:22 pm


काठमाडौं । सरकारले प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका ५ सय ७२ परिवारका लागि ५० हजारका दरले राहत दिने भएको छ ।

उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले आज राष्ट्रिय सभाको बैठकमा बोल्दै यो वर्ष मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालय मार्फत उक्त रकम उपलब्ध गराइने जानकारी गराएका हुन् ।

राहतका लागि २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

गृहमन्त्री पौडेलले यो वर्ष प्राकृतिक विपत्तिबाट ५ सय ६५ घरमा पूर्ण क्षति भएको जानकारी दिए । त्यस्तै १ सय १२ घरमा सामान्य क्षति पुगेको उनको भनाई छ ।

३६ सरकारी कार्यालय भवन र ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको मन्त्री पौडेलले जानकारी दिए ।

मन्त्रालयको तथ्याङ्क अनुसार सिन्धुपाल्चोकमा ७, मनाङमा २, चितवना २, तनहँुमा १ उदयपुर, मोरङ र सिरहामा गरी १५ वटा पक्की पुलमा क्षति पुगेको छ । यस्तै विभिन्न जिल्लामा २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । गृहमन्त्री पौडेलले क्षति पुगेका पुलहरूको निर्माण तथा सडक खुलाउनका लागि सम्वन्धित निकायलाई निर्देशन समेत दिएको उनले बताए ।

अति प्रभावित सिन्धुपाल्चोक, मनाङसहितका ८ जिल्लामा ८ सय ३४ थान टेन्ट, २ हजार ५६ थान त्रिपाल, १ सय ९४ थान स्लिपिङ ब्याग लगायतका राहत सामग्री दिइएको मन्त्री पौडेलले राष्ट्रिय सभामा जानकारी गराएका छन् ।

अघिल्लो बर्ष मनसुनबाट क्षति पुगेका ३ हजार ९ सय ५० परिवारलाई घर बनाउन पहिलो किस्ता वापत ५० हजार रुपैयाँका दारले १९ करोड ९७ लाख रुपैयाँ अनुदान दिइएको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !