रोल्पामा निषेधाज्ञा खुकुलो,निजी तथा सार्वजनिक सवारी साधन चल्ने
रोल्पा । रोल्पामा कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा असार ३१ गतेसम्म थपिएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसीसीएमसी) को बैठकले निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको छ । सवारी सधान सञ्चालनमा भने खुकुलो गरिएको छ ।
आज बसेको डिसीसीएमसी बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपले पालना गरेर सम्पूर्ण पसलहरु बिहान ६ बजेदेखि बेलुकी ५ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।
त्यस्तै सार्वजनिक सेवा सञ्चालन गर्ने सरकारी कार्यालयहरू,सार्वजनिक सेवा प्रदायक संस्था एवं बैंक तथा वित्तीय सस्थाहरूको सवारी साधन जिल्ला भित्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।
मोटरसाइकल,स्कुटी,कार जीप र भ्यानमा स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने गरी बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म जिल्ला भित्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।
यस्तै सार्वजनिक सवारी साधनमा टेम्पो र ट्याक्सी नियमित रुपमा र अन्य सार्वजनिक यातायातका साधनहरू स्वास्थ्य मापदण्डको पूर्ण परिपालन गर्दै भौतिक दूरी कायम गरी कुल स्वीकृत सिट क्षमताभन्दा बढी संख्यामा यात्रु नराख्ने गरी बिहान ६ बजेदेखि बुलुकी ६ बजेसम्म सञ्चालन गर्न दिने डिसीसीएमसीले निर्णय गरेको छ ।
रोल्पामा कोरोना संक्रमण बढ्दै गएपछि रोल्पामा निषेधाज्ञा जारी छ । डिएमसीसीको बेठकले अझै कोरोना संक्रमितको संख्यामा अपेक्षित सुधार नआएको निष्कर्ष निकाल्दै असार ३१ गते बिहीबार राती १२ बजेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो ।