पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
प्रकाशित मिति : 5 July, 2021 8:40 am
चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि फेरि अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितावनले चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जनाएको छ ।
हिजो सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गर्दै भनेको छ,“नारायणगढ–मुग्लिन सडकखण्डको सेतिदोभान,१४ किलो लगायत विभिन्न स्थानमा पहिरो गएको कारण बाटो अवरोध भएको छ । अत्यावश्यक सवारी साधनहरूले बैकल्पिक बाटोको प्रयोग गर्न हुन अनुरोध गर्दछौं ।”
सडक बन्द हुँदा मुग्लिन र आँपटारी क्षेत्रमा दर्जनौं सवारीसाधन अलपत्र छन् ।