सुजिता भण्डारी घटना छानबिनको माग गर्दै स्थानीयले गराए राजमार्ग अवरुद्ध
चितवन । चितवनबाट १० दिनदेखि बेपत्ता सुजिता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएपछि घटनाको सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयहरुले आन्दोलन तथा नारावाजी गरेका छन् ।
प्रहरीले शवलाई पोष्टमार्डमका लागि अस्पताल लैजाने बेला आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका छन् ।
सुजिता हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै आक्रोशित स्थानियले नारावाजी गर्दै राजमार्ग अवरुद्द गराएका हुन्
राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव आइतवार दिउसो मृतावस्थामा फेला परेको थियो ।
उनी असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।
जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला थियो । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।