नेप्से घट्दा कारोबार रकम ४ अर्बमा सीमित, लगानीकर्ता भन्छन्-बजार प्रवेश गर्ने राम्रो अवसर
काठमाडौं । साताको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज –नेप्से) परिसूचक ओरालो लागेको छ ।
बजारमा नियामक निकाय धितोपत्र बोर्डले निकालेको विज्ञप्तीको असर परेको भन्ने एक थरि लगानीकर्ताको अनुमान छ भने अर्को थरीले यो समयनै कर चुक्ता गर्ने र आर्थिक वर्ष समाप्त हुन लागेको हुनाले त्यसको असर स्वाभाविक रुपमा बजारमा पर्ने बताउँछन् ।
असारमा १५ सम्म त हरेक वर्ष स्वभाविक रुपले बजार घट्नेनै हो तर अहिले लगानीकर्ताहरुले सेयर होल्ड गर्न नचाहेको कारण बजारमा केही करेक्सन आएको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए ।
धितोपत्र बोर्डले पनि बजारलाई कहिले के कहिले के गरेर धमिल्याउने काम गरेको उनको आरोप छ ।बजार घट्नु र बढ्नु स्वभाविक कुरा भएको हुनाले अहिले कुनै पनि सेक्टर नराम्रो भएको छैन सबै सेक्टर राम्रो भन्दै उनले भने “अहिले बजारमा प्रवेश गर्ने राम्रो अवसर भएको हुनाले ढुक्क भएर लगानी गर्नुहोस् ।”
हिजो ८.४८ अंकले ओरालो लागेको सेयरबजार आज पनि ओरालो यात्रालाई निरन्तरता दिँदै ११.७८ अंकले घटेर २८२२.७३ अंकमा झेरेको छ भने राम्रा र बलिया कम्पनीको सुचक सेन्सेटिभ परिसूचक ०.०४ अंकले घटेर ५२८.४१ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ ।
आजको दिन नेप्सेमा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.९ प्रतिशतले उकालो लागेको छ भने व्यापार समूह ३.६१ प्रतिशत, लगानी समूहमा ०.५५ प्रतिशत, म्युचुअल फन्ड समूह ०.३६ प्रतिशत र अन्य समूहमा ०.४० प्रतिशतले बढेको छ ।
त्यस्तै आज वित्त समूह सर्वाधिक २.५१ प्रतिशतले ओरालो लागेको छ भने विकास बैंक समूह २.३७ प्रतिशत, बैंकिङ समूहमा ०.३६ प्रतिशत, होटेल तथा पर्यटन समूह १.५८ प्रतिशत, जलविद्युत समूह १.८९ प्रतिशत, जीवन बीमा समूह ०.८० प्रतिशत, लघुवित्त समूह ०.६६ प्रतिशत र निर्जीवन बीमा समूह१.१२ प्रतिशतले ओरालो लागेको छ ।
आज बजारमा हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४१ करोड २० लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक धेरै कमाउँदा गोर्खाज फाइनान्सका लगानीकर्ताले सर्वाधिक धेरै गुमाएका छन् ।
नेप्सेमा आज २२४ वटा कम्पनीको एक करोड ६३ हजार ६ सय ३६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।