यी स्थानबाट लगाउन पाइन्छ भेरोसेल खोपको दोस्रो मात्रा
काठमाडौं । काठमाडौंका विभिन्न जिल्लाका खोप केन्द्रहरुमा आजदेखि कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइएको छ । गत महिना जेठको २५ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुले आज देखि असार २४ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने बाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पहिलो मात्रा लगाएका व्यक्तिहरुले दोस्रो मात्रा काठमाण्डौ महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट लगाउन सक्ने निर्देशनालयले जनाएको छ ।
काठमाण्डौ महानगरका १३ अस्पताल र स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ भने अन्यत्र पनि स्वास्थ्य केन्द्रबाट खोप दिइने भएको छ। आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाउन जानुपर्नेछ। यसका लागि पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर जान निर्देशनालयले आग्रह गरेको छ ।