१२ मंसिर २०८१, बुधबार

वीपी कोइराला प्रतिष्ठानमा सरकारी टोली र आन्दोलनरत पक्षबीच छलफल

प्रकाशित मिति :  6 July, 2021 3:31 pm


काठमाडौं । धरानको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानका चिकित्सक र कर्मचारीको आन्दोलनको विषयमा सरकारी टोलीसँग छलफल भएको छ ।

समन्वयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको टोलीसँग छलफल भएपनि यसलाई औपचारिक वार्ता नमानेको संर्घष समितिले जनाएको छ ।

प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक तथा कर्मचारीले मंगलबार एक विज्ञप्ती जारी गर्दै भनेका छन् ‘हाम्रा कुरा बुझ्ने सुन्ने प्रयास गर्नुभएको यस कदमलाई हामीले सकारात्मक रुपमा लिएका छौं, हामीले यसलाई औपचारिक वार्ता मानेका छैनौं, आन्दोलनको २२ औं दिनमा पनि वार्ता टोली गठन गर्न ढिलाइ गर्नु दुःखद र गैरजिम्मेवारी पूर्ण छ ।’

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र कर्मचारी आन्दोलनको विषयमा सरकारी टोलीले जानकारी लिएको छ ।
प्रतिष्ठानमा आन्दोलन सुरु भएको २१ औं दिनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वयका लागि टोली पठाएको थियो ।

सरकारले पठाएको डा. रोशन पोखरेलसहितको टोलीसँग सोमबार संघर्षसमितिले अनौपचारिक छलफल गरेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संयुक्त संघर्ष समिति संयोजक डा. एसपी रिमालले बताए । टोलीसँग अनौपचारिक छलफल गर्दा संघर्ष समितिले पदाधिकारीको बहिर्गमन र उच्चस्तरीय वार्ता टोलीको माग गरेको छ ।

विभिन्न १२ बुुँदे माग राख्दै आन्दोलनमा उत्रिएको चिकित्सक र कर्मचारी टोलीलाई असार १५ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार जना पदाधिकारीले वार्तामा बोलाएका थिए । तर उपकुलपति गिरी नै मदिरा सेवन गरेर वार्तास्थलमा पुगेपछि आन्दोलनकारीले वार्ताका लागि पदाधिकारीको बर्हिगमनलाई शर्त बनाएका छन् ।

प्रतिष्ठानको गिरेको साख जोगाउन उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्राडा. मोहनचन्द्र रेग्मी, रेक्टर प्रा डा. गुरु खनाल र निर्देशक प्राडा. गौरीशंकर शाहको राजीनामा दिनुपर्ने संघर्ष समितिको माग छ ।

चिकित्सक, प्राध्यापक विद्यार्थी र कर्मचारीले वार्ताका लागि सरकारलाई दिएको अल्टिमेटम मंगलबार सकिँदैछ । असार १६ गते चार जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै संघर्ष समितिले पदाधिकारीको राजीनामा र प्रधानमन्त्रीको पहलमा उच्चस्तरीय वार्ता टोली गठनका लागि आजसम्मको समय दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !