७ आश्विन २०८१, सोमबार

यसकारण फुट्ने निर्णयमा पुग्यो जसपा, नाम ‘सिज’ हुन सक्ने

प्रकाशित मिति :  6 July, 2021 5:36 pm


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्षका अहं (इगो) र आन्तरिक तथा बाह्य राजनीतिका कारण पार्टी फुटेको छ ।

दुबै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले सहमतिका लागि आयोगमा बोलाएर गरेको प्रयासमा दुवै पक्षले छुट्टिने निर्णय गरेका छन् ।

आयोगले अब एउटा पक्षलाई आधिकारिकता दिनुपर्ने वा दुवैलाई नयाँ पार्टी गठन गर्ने गरी जसपा ‘सिज’ गरी राख्न सक्ने निर्णय गर्न सक्ने कतिपयको भनाइ रहेको छ ।

जसपा ‘सिज’ गरेमा यादव पक्षले आधिकारिताका लागि सर्वोच्चमा रिट निवेदन दर्ता गराउने तयारी  छ ।

यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन निवेदन दिएपछि आयोगले दुवै पक्षलाई मंगलबार बोलाएको थियो । तर मंगलबारको बैठकमा कुनै सहमति जुट्न सकेन।

आधिकारिताको माग दाबीसहित निवेदक दिने पक्षका तर्फबाट उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए भने अर्को पक्षबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, केशव झा र सुरेन्द्र झा आयोगमा उपस्थित भएका थिए ।

दुवै पक्ष बिचको विवाद मिलाउन आयोगले सहमतिका लागि गराएको छलफलमा नजुटेपछि दुवैले आयोगको माइन्युटमा छुट्टा छ्ट्टै बस्ने बेहोरामा हस्ताक्षर गरेका हुन् ।

अध्यक्ष यादवले पार्टीमा छुट्टाछुट्टै गतिविधि भएको र सँगै बस्न सक्ने अवस्था नभएको बताएका थिए भने अर्का अध्यक्ष ठाकुरले गत वर्ष नै यादवको पार्टी फुट्न लाग्दा आफूले एकीकरण गरी जोगाइ दिएको बताएका थिए । ठाकुरले यादवले त्यो गुन बिर्सेको बताएका थिए ।

जवाफमा यादव पक्षले अब सँगै बस्न नसकिने भएपछि आधिकारिकताबारे निर्णय गरिदिन निवेदन दिए अनुसारको कारबाही अगाडि बढाउन आयोगलाई भनेको बताएका छन् ।

निर्वाचन आयोगले अब यादवले दिएको निवेदन उपर आवश्यक काुननी पहल गर्ने छ । आयोगले दुवै पक्षका वकिल बिच बहस गराइ आवश्यक निर्णय लिने छ ।

जसपा गठन भएदेखि दुवै अध्यक्ष बिच धेरै थोर आफू ठूलो भएको इगो मुख्य कारक रहेको सत्यनारायण मण्डलले बताए ।
मण्डलले भने “ दुवै नेताहरूबीचको इगोले पार्टी समायोजनमा ढिलाइ भएको थियो ।”

पार्टीका एक अन्य नेताले दुवै अध्यक्ष बिचको इगो समाधान गर्न पार्टी दर्ता गर्दा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिपेक्स लगाएर ४ नम्बरमा राखेको व्यवहारले पुष्टि गर्छ ।

दुवै पक्षमा कतै नखुलेका ती नेताले पार्टी दर्ता नै समस्या हुने देखेर भट्टराईले टिपेक्स लगाएर काम अगाडि बढाएको सत्य हो । तर पनि दुई अध्यक्ष बीचको अहं जतिखेर पनि समायोजनमा समस्या पार्दै आएको थियो । पछिल्लो समय आन्तरिक तथा बाह्य राजनीतिक प्रभावले पनि पार्टी फुटेको उक्त पार्टीकै नेताहरु स्वीकार गर्छन्  ।

भारत र अमेरिका दुवैले इन्डोप्यासिफिक रणनीतिमा नेपाललाई सामेल गराउन गरेको भरमग्दुर प्रयासले जसपा फुट्न बल पुराएको ती नेताले जनाए ।

प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा जाने विषयले गर्दा पनि पार्टी फुटेको हो । ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिए भने यादव पक्ष ओली विरोधी पक्षमा सहभागी भएकाले पनि पार्टी फुट्न बल पुगेको हो ।

राजनीतिकरूपमा हुनुपर्ने व्यवस्थापन हुन नसक्नु , इगो र आन्तरिक तथा बाह्य राजनीतिले पार्टी फुटेको भनाइ सही भएको नेता मण्डलले जनाए ।

केन्द्रीय समितिको बहुमतको आधारमा आयोगले निर्णय नगरी जसपा सिज गरी अन्यथा निर्णय गरे यादव पक्षले सर्वोच्चमा रिट हाल्ने उनको भनाइ छ । आयोगले तेस्रो निर्णय गर्न सक्ने विषयलाई तत्कालको अवस्थामा यकिन गर्न नसकिने उनले जनाए ।



प्रतिक्रिया दिनुहोस !