७ आश्विन २०८१, सोमबार

एमाले कार्यदलको बैठक लम्बिदै

प्रकाशित मिति :  6 July, 2021 6:12 pm


काठमाडौं । नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक लम्बिदै गएको छ ।

सोमबार साँझसम्म प्रतिपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग दाबी सहितको रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको चेतावनीलाई पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले बेवास्ता गरेका थिए ।

ओलीले त्यसपछि विवाद समाधान गर्न बनेको दुवै तर्फको कार्यदललाई ब्युँत्याएर छलफल अगाडि बढाउने पहल लिएका थिए ।
सोही पहल अन्तर्गत मंगलबार बसेको दुवै पक्षको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

मंगलवार सिंहदरवारमा बसेको बैठक टुंगोमा नपुगेको कार्यदलका सदस्यहरूले धारणा सार्वजनिक गरेका हुन् । कार्यदलका सदस्य गोकर्ण बिष्टले जनाए अनुसार विवाद समाधनका लागि विभिन्न विकल्पहरूमा छलफल भयो ।

अर्का सदस्य रघुजी पन्तले जनाए अनुसार बुँदागत विषयहरूमा दुवै पक्षको तर्फबाट धारणा राख्ने काम भएको हो । पन्तले भोलि बुधबार बैठक बस्ने गरी आजको बैठक सकिएको बताए ।

मंगलबार दुवै पक्षको बैठक ३ घण्टा बढी छलफल भएको थियो । ओली समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री र प्रतिनिधिसभा विघटनको निर्णय विरुद्धमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने राखेको अडानलाई नेपालले अस्वीकार गरिसकेका हुन् ।

नेपाल पक्षले जेठ२ गते २०७५को निर्णयमा फर्किन ओलीले कुनै किन्तु परन्तु गर्नुपर्ने कारण नरहेको जनाएको छ ।

नेपाल पक्षले सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्न कुनै किन्तु परन्तु नभएको दाबी लिए पनि ओलीले यसमा कुनै न कुनै किन्तु परन्तु लगाउन खोजेको पाटीका नेताहरूको भनाइ रहेको छ ।

नेपाल पक्षको नेता भीमरावलको नेतृत्वमा धनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र रघुजी पन्त र ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा प्रदिप ज्ञावाली, विष्णु पौडेल, शंकर पोख्रेल र विष्णु रिजाल सहभागी रहने गरी कार्यदल गठन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !