९ माघ २०८१, बुधबार

५ वटा प्रदेशमा भारी वर्षको सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  8 July, 2021 7:18 am


काठमाडौं । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको अनुमान छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको सूचनामा सर्तकता अपनाउन आग्रह गरिएको छ । महाशाखाको बुलेटिनमा भनिएको छ,“ पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।”



प्रतिक्रिया दिनुहोस !