प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट डा. आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं, ८ माघ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी डा. आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती हुनुभएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताए ।
नेपाल प्रहरी अस्पतालले प्रदान गर्ने सेवा, व्यवहार, भौतिक संरचना लगायतमा उल्लेख्य सकारात्मक परिवर्तन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।
अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै अस्पतालमा कार्यरत कर्मचारीहरुको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशिल रहेको बताउँदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामुहिक भावना सहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।