आज बेलुकी ८:१५ बजे*बजे बेलायती अर्बपतिले अन्तरिक्ष यात्रा सुरु गर्ने
काठमाडौ । बेलायती अर्बपति रिचर्ड ब्रान्सनले आइतबार अन्तरिक्ष यात्रामा जान लागेका छन् । उनको यो अन्तरिक्ष यात्रा सफलतापूर्वक सफल भए उनको कम्पनीले व्यवसायिक अन्तरिक्ष यात्रा उडान सुरु गर्ने तयारी गरेको हो । यो अन्तरिक्ष समूहको टोलीमा भारतकी सिरिसा बान्देला एयरोनटिकल इन्जिनियरको रूपमा सहभागी छिन् ।
कल्पना चावलापछि भारतको दोस्रो महिलाको रूपमा ३४ वर्षीया सिरिसाको यो सहभागिता हुने भएको हो । अन्तरिक्ष यात्रा गराउने अर्को कम्पनी एलन मस्कले रिर्चडलाई यो अन्तरिक्ष यात्राका लागि शुभकामना दिएका छन् ।
अन्तरिक्ष यात्राको क्षेत्रमा यो जुलाई महिनामा दुई महत्वपूर्ण घटना हुन थालेको हो । बेलायती अर्बपति रिचर्डको यो अन्तरिक्ष यात्रा पछि अमेजनका संस्थापक विश्वका एक नम्बर अर्बपति जेफ बिजोसले जुलाई २०मा अन्तरिक्षको यात्रामा निस्कन लागेका हुन् ।
अन्तरिक्ष यात्रा गराउने कम्पनीमा रिचर्डको भर्जिन, बेजोसको ब्लु ओरिजिन र एलन मस्कको स्पेसएक्स अन्तरिक्ष यात्रा गराउने कम्पनीको रूपमा सक्रिय रहेको छ ।
नेपाली समय अनुसार आज बेलुकी ८.१५ बजे न्यूम्याक्सिकोस्थित स्पेसपोर्टबाट अन्तरिक्ष यान उडान भर्न लागेको हो । यो उडान अवधि अढाई घन्टाको हुनेछ ।
उडान भरेको केही समय पछि रकेट छुट्टिने छ । अन्तरिक्षको ९०–१०० किलोमिटरसम्म यो यात्राको उडान हुने निर्धारण गरिएको छ । यसको प्रत्यक्ष प्रसारण फेसबुक र ट्वीटरमा गरिने छ ।
*समय संसोधन गरिएको