७ आश्विन २०८१, सोमबार

प्रतिनिधि सभा ब्युँतिए संसद पद जोगाउने पूर्व माओवादीहरूको प्रयास तुहियो

प्रकाशित मिति :  11 July, 2021 3:52 pm


काठमाडौ । पूर्व माओवादीहरूले माओवादी केन्द्र खारेज गरी आफ्नो सांसद पद जोगाउने प्रयास तुहिएको छ ।

निर्वाचन आयोगले उनीहरूको निवेदन खारेज दिएपछि यस्तो अवस्था सिर्जन भएको हो ।

सरोकार बिनाको निवेदन दर्ता नगर्न निर्वाचन आयोगलाई नेकपा (माओवादी केन्द्र)ले चेतावनी दिएको भोलिपल्ट पूर्व माओवादीहरूको तर्फबाट माओवादी केन्द्र खारेज गरी पाउँ भनी दिइएको निवेदन खारिज गरिएको छ ।

निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरी हाल एमाले नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको हो ।

यसैगरी अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्रको लेटरप्याड प्रयोग गरेर निर्वाचन आयोगमा दिएको अर्को निवदेन पनि आयोगले खारेज गरिदिएको छ ।

अन्य दलको लेटरप्याडको दुरुपयोग नगर्न आयोगले भविसोर पराजुलीलाई सचेत गराउने निर्णयसमेत गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु सगुनसमशेर जबरा, जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले आइतबार प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको हो ।

पूर्व माओवादीहरू माओवादी केन्द्र खारेज गराइ आफ्नो संसद पद जोगाउने बदनियत तुहिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन खारेज गरेको अवस्थामा संसद पुनर्बहाली भइ सावधिक निर्वाचनको बेलासम्म उनीहरू ससंद बाहिर बसेर संसदीय कारबाही हेर्नुपर्ने अवस्था आएको छ ।

 



प्रतिक्रिया दिनुहोस !