४ आश्विन २०८१, शुक्रबार

नेकपामा‌ समाहित समाजवादी पार्टीलाई प्रचण्डको आग्रह

प्रकाशित मिति :  22 January, 2020 5:45 pm


काठमाडौं, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी पार्टीलाई नेकपामा समाहित हुन आग्रह गरेका छन् ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य रामप्रसाद रिजालको नेतृत्वमा नेकपा प्रवेश गरेका चार दर्जन नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने,‘समाजवादीमा रहेका साथीहरु अशोक राई र बाबुराम भट्टराईजी निरीह भएर बस्नुपरेको छ भनेर अघि रामप्रसादजीले भन्नुभयो, उहाँले भनेको सत्य नै होला । मलाई थाहा छैन् । तर, मैले भन्दा उपेन्द्रजीपनि हामीसँग मिल्नै आए हुन्छ । उहाँहरुलाई त्यही भन्न चाहन्छु । देशलाई स्थिरता र समृद्धि दिउँ ।’

उनले ‘जो जहाँनिर व्युँझिन्छ, त्यो त्यहीँबाट उठेर हिँड्न थाल्छ’ भन्दै नवप्रवेशीहरुलाई पनि उनीहरुको पोजिसन र क्षमताअनुसार पार्टीमा जिम्मेवारी दिईने स्पष्ट पारे । ‘यसमा पार्टीको ध्यान हुनेछ । मेरो तपाई सबैलाई स्वागत र शुभकामना छ ।’–दाहालले भने ।

उनले नेपालको राजनीति लामो संघर्ष र बलिदानबाट अघि बढेको सुनाउँदै भने,‘हामीले तीन तहको निर्वाचन संविधानअनुसार सम्पन्न गर्यौं । नेपालको ईतिहासमा पहिलोपटक राजनीतकि स्थायित्व बन्यो । यो नेपाल राष्ट्र र जनताको निम्ति ठूलो अवसर हो । यसलाई कुनैपनि हालतमा गुम्न दिनुहुँदैन् । देशको आर्थिक समृद्धि र विकासको निम्ति एकतावद्ध हुनुको कुनै विकल्प छैन् ।’

उनले समाजवादीबाट पार्टी प्रवेश गरेर नेताहरुले एउटा सन्देश दिएको सुनाए । ‘तपाईहरुले अहिले समाजवादी आधार र समृद्धिको लागि एकता प्रस्तुत गर्नुभयो ।’–अध्यक्ष दाहालले भने । उनले नेकपा देशको प्रमुख पार्टी हुनुको नाताले आफूहरुले सबैको नेतृत्व गरेर जाने प्रयास गरिरहेको पनि स्पष्ट पारे । उनले भने,‘सदन र सदन बाहिर पनि सकेसम्म समझदारी मिलाएर जाने हाम्रो प्रयास छ । सत्तापक्ष र प्रतिपक्षबीच हातेमालो गरेर जाने हाम्रो कोशिस छ ।’



प्रतिक्रिया दिनुहोस !