७ आश्विन २०८१, सोमबार

दोस्रो पटक पनि प्रचण्डको ‘पास’मा ओली विरुद्व देउवाको ‘गोल’ !

प्रकाशित मिति :  12 July, 2021 3:44 pm


काठमाडौ । नेपाली राजनीति वृतको भकुन्डो खेलमा फेरि प्रधानमन्त्रीको कुर्सीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पासमा नेपाली कांग्रेसका शेरबहादुर देउवाले दोस्रो पटक पनि ‘गोल गर्न’ पुगेका हुन् ।

नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिएको छ ।

यो परमादेश पछाडि प्रचण्डको भूमिका महत्वपूर्ण रहेको छ । ओलीलाई प्रधानमन्त्री पदबाट विस्थापित गराउने राजनीति र त्यसको परिणाममा देउवालाई प्रधानमन्त्री बनाउन राजनीति निर्माण गर्ने प्रचण्ड नै साबित बन्न पुगेका हुन् ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने आज बसेको संवैधानिक इजलासको फैसलाले जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटन बदर हुन पुगेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईले करिब एक महिनाको सुनुवाइपछि आज यस्तो फैसला सुनाएका हुन् ।

जेठ ७ मा राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी पेस गरेका प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको दाबी खारेज गरेकी थिइन् ।

सोही मध्यरातमा राष्ट्रपतिले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि सो कदमविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका थिए ।

संवैधानिक इजलासका तर्फबाट न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सुनाएका फैसलाका मुख्य बुँदाहरूमा , प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय बदर र प्रतिनिधिसभा पुनस्र्थापना, केपी ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि गरेको दाबी संविधानसम्मत नभएको ठहर गरिएको छ ।

यसैगरी १४९ सांसदको हस्ताक्षरसहित देउवाले गरेको दाबी सदरगरी असार २९ गते मंगलबार साँझसम्म काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी समेत गरिएको छ ।

यस्तै तत्काल संसद अधिवेशन आह्वान गरी प्रतिनिधिसभाको बैठक बोलाउन आदेश र जुन विन्दुबाट संविधानको प्रक्रिया मिचिएको हो, त्यही बिन्दुबाट प्रक्रिया अघि बढाइ देउवालाई प्रम बनाउन र विश्वासको मत लिने प्रक्रियातर्फ अघि बढाउन आदेश दिइएको हो ।

जेठ ११ गतेदेखि विघटन विरुद्ध र पक्षमा समेत गरि ३० वटा रिट दर्ता गरेर सर्वोच्च अदालतले ३९ दिनमा बहस सकाएर संवैधानिक इजलासबाट विघटनविरुद्धको रिटमा असार २१ मा सुनुवाइ सकिएको थियो ।

सुनुवाइ सकिए पछि फैसला आज सुनाउन भनिए तोकिए अनुसार देउवालाई प्रधानमन्त्री बनाउन परमादेश भएको हो । यसलाई ‘प्रचण्डको पास’मा देउवाले प्रधानमन्त्रीको कुर्सीका लागि दोस्रो पटक गरेको ‘गोल’ हो ।

यो गोल पनि ओली विरूद्ध नै गरिएको गोल हो । यसअघि संविधान घोषणा भएपछि ओली प्रधानमन्त्री भएका बेला पनि ओलीसँगको राजनीति मिलाउन नसक्दा प्रचण्डले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देउवालाई प्रधानमन्त्री बनाएका थिए । त्यतिखेर देउवा अघि आफै प्रधानमन्त्री भएका थिए ।



प्रतिक्रिया दिनुहोस !