७ आश्विन २०८१, सोमबार

कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको सपथ ग्रहण गर्दै, मन्त्री छान्न दलहरू व्यस्त

प्रकाशित मिति :  13 July, 2021 11:19 am


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् ।

सर्वोच्च अदालतको आदेश अनुसार देउवाले पद तथा गोपनीयताको सपथ ग्रहण गर्न लागेका हुन् ।

देउवा पाँचौ पटक प्रधानमन्त्री बन्न लागेका हुन् । नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका देउवा यो पटक सर्वोच्चले दिएको परमादेशबाट प्रधानमन्त्री बन्ने भएका हुन् ।

नेपाली काँग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति भएका थिए ।

पछि फेरि काँग्रेस पुनर्मिलन पश्चात् नेपाली काँग्रेसमा समावेश भए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा जिल्ला क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गरेका थिए ।

वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १बाट विजयी भएका थिए । उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति थिए र सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन् । राजनीतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजीवन बिताएका छन्।

देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम”को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्षपछि वि.सं. २०६१ सालमा पुन: प्रधानमन्त्री नियुक्त गरेका थिए ।

पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए भने वि.सं. २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उनी वरिष्ठ नेतामा स्थापित भए । त्यसपछि सम्पन्न भएको १३औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएका देउवा
यसअघि २०७४ जेठ २४ गतेदेखि २०७४ फागुन ३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।

यसअघि २०६१ जेठ २१ देखि २०६१ माघ १९ गतेसम्म, २०५८ साउन ११ देखि २०५९देखि २०५९ असोज १८ र २०५२ भदौ २७ देखि २०५३ फागुन २९ गतेसम्म प्रधानमन्त्री भएका थिए । उनले पहिलो पटक २०५२ साल भदौ २७ गते प्रधानमन्त्री पदको सपथ लिएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम. ए. गरेका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् । नयाँ सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउन दलहरु व्यस्त छन् ।



प्रतिक्रिया दिनुहोस !