७ आश्विन २०८१, सोमबार

विज्ञप्ति सच्च्याउन देउवाले अडान लिएपछि शपथमा ढिलाइ

प्रकाशित मिति :  13 July, 2021 6:51 pm


काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियुक्तिको विज्ञप्ति राष्ट्रपति कार्यालयले नसच्च्याए शपथ नलिने अडान लिएपछि सपथ कार्यक्रममा ढिलाइ भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री देउवाले आपत्ति जनाएका छन् ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई नियुक्तिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण नहुने जनाए ।

राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका हुन् ।

आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले मुख्यसचिव समक्ष आपति जनाएर सच्च्याउन भनेका छन् ।

यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिएका छन् । हालसम्म राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएर सार्वजनिक भएको छैन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताको आदेशबाट प्रधानमन्त्री भएको देउवा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री भएकाो टिप्पणी गरे अनुसारकै विज्ञप्ति आएकोमा त्यसको समाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

विज्ञप्तिबारे विवाद भएपछि साँझ ६ बजे हुने भनिएको शपथ अझै शुरु हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !