७ आश्विन २०८१, सोमबार

एमालेमा शिर्ष नेतामा तिक्तता, दोस्रो तहका नेताको सक्रियता कायमै

प्रकाशित मिति :  17 July, 2021 2:32 pm


काठमाडौं । नेकपा एमालेको विघटित कार्यदलका सदस्यहरू फेरि सक्रिय भएका छन् । पार्टीभित्र अन्तरविरोध बढेको भन्दै नेकपा एमालेका दोस्रो तहका नेताहरूले एकताको प्रयासका लागि सिंहदरबारमा आज छलफल गरेका हुन् ।

विघटित कार्यदलको बैठकले असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउने विषयमा फेरि छलफल गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवुकमार नेपाल पक्षका नेताहरूले असार २७ मा १० बुँदे सहमति भएको थियो । तर,सहमति कार्यान्वयन नहुँदै अध्यक्ष ओली र नेता नेपालबीच तिक्तता बढेको छ ।

बैठकपछि नेपाल पक्षका नेता गोकर्ण विष्टले भने,“पार्टी स्थायी कमिटीका सदस्यहरूबीच अनौपचारिक भेटघाट हो,कार्यदलले गरेको १० बुँदे सहमतिलाई आधार बनाएर कसरी पार्टी एकतालाई जोगाउने भन्ने सन्दर्भमा हामीले भेटघाट गरेका हौं, अनौपचारिक सम्बाद गरेका हौं । हाम्रो गम्भीर सरकार बनेको पार्टी एकतालाई जोगाउने हो ।”

ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले छलफललाई निरन्तर अगाडि बढाउने बताए । आज १० बुँदे सहमतिलाई कार्यान्वयन र पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल गरेको बताए ।

उनले भने,“नेकपा एमाले एकताबद्ध हुँदा त्यसले नेपालको कम्युनिष्ट आनदोलनका साथसाथै लोकतान्त्रिक आन्दोलन र संविधानलाई त्यसले सबल बनाउँछ । यै विश्वासका साथ हामी छलफलमा जुटेका थियौं । छलफलको निष्कर्ष त्यो १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढाउने भन्ने निष्कर्षमा पुगेका छौं ।”

अध्यक्ष ओलीले हिजो राखेको स्थायी कमिटी स्थायी कमिटी बैठक स्थलमा पुगेर नेपाल पक्षका कार्यदल सदस्यहरूले बैठक रोकेर १० बुँदे सहमति कार्यान्वयनका लागि वातावरण बनाउन आग्रह गरेका थिए । तर, अध्यक्ष ओलीले बैठक रोकेनन् । ओलीले आफूपक्षीय स्थायी कमिटीबाट १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल खारेजको निर्णय गराएका थिए ।

यसैबीच ओलीले आजपनि स्थायी कमिटी बैठक बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस !