७ आश्विन २०८१, सोमबार

एमालेका पूर्व अध्यक्ष खनालद्वारा देउवालाई मतदान गर्न एमाले सांसदलाई आह्वान

प्रकाशित मिति :  18 July, 2021 1:49 pm


फाइल फोटो

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालले नयाँ दिल्लीको एपोलो अस्पतालबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन सबैलाई आह्वान गरेका छन् ।

खनालले एक विज्ञप्ति जारी गरी उनले सबैलाई आग्रह गरेका हुन् । खनालले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भनेका छन् ।

उनले भनेकाा छन्“ विशेष गरेर यहीं गत असार २८ गते भएको सम्मानित सर्वोच्च अदालतको फैसलाले निकै लामो समयदेखि गलत बाटोमा गइरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठिक बाटोमा ल्याएको छ । संविधानको सरक्षण भएको छ । संविधानको सही व्याख्या समेत गरिएको छ र ५ बर्षको निम्ति निर्वाचित भएको प्रतिनिधि सभालाई असंवैधानिक रूपले गरिएको विगठनलाई बदर गरी फेरि पुनः स्थापित गरिएको छ । त्यसैले यो नेपालको संवैधानिक राजनीतिक इतिहासमा एउटा ऐतिहासिक फैसला हो ।”

यो फैसलाले नेपालको संवैधानिक राजनीतिक विकासक्रमलाई दूरगामी प्रभाव पार्ने बताउँदै खनालले हामी ३ करोड नेपालीलाई यो फैसला स्वीकार गर्नुको कुनै विकल्प नभएको बताएका छन् ।

उनले जारी विज्ञप्तिमा भन्छन् “कसैलाई चित्त नबुझे मर्यादापूर्वक र विधिपूर्वक असहमति राख्न पाइन्छ । तर यो फैसलाको विरोध गर्ने, भत्र्सना गर्ने, खिल्ली उडाउने र भण्डाफोरको अभियान चलाउने काम भने कसैले पनि गर्नु कानुन र संविधान सम्मत हुँदैन । त्यसमाथि हाम्रो जस्तो लोकतन्त्रका निम्ति र विधिको शासनका निम्ति ७० वर्षभन्दा लामो समयदेखि संघर्ष गर्दै आएको पार्टीले यो फैसलालाई उच्च सम्मान गर्नुपर्दछ र यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ ।” दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेका एमाले नेता तथा पूर्व प्रधानमन्त्री खनालले विज्ञप्तिमा भनेका छन् “हाम्रो पार्टी नेपालको लोकतान्त्रिक आन्दोलन राष्ट्रियताको निम्तिको आन्दोलन र कम्युनिष्ट आन्दोलनको अगुवा शक्ति हो र यो मूलप्रवाह पनि हो । यस्ता घटनाहरुमा पनि हाम्रो पार्टीले राष्ट्रिय राजनीतिमा मार्गदर्शनको भूमिका खेल्न सक्नुपर्छ । मुलुकको राष्ट्रिय राजनीतिक प्रवाहबाट अलग–अलग बस्ने निति लिनु हुँदैन ।”

देउवालाई लोकतान्त्रिक सहयोद्ध भएको भन्दै खनाल भन्छन् “ सर्वोच्च अदालतको उक्त फैसलापछि लोकतान्त्रिक आन्दोलनका सहयोद्धा माननीय शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको छ । यो सरकार अब दुई वर्षसम्म निर्बाध रूपले चल्न सक्नुपर्छ । यो सरकार सबै लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूको समेत साझा सरकार बन्नुपर्छ ।”

जनताको जनादेश बमोजिम यो सरकारले जनताको ज्वलन्त समस्याहरू, उनीहरूका वास्तविक चाहनाहरू, जनताका लोकतान्त्रिक मूल्य मान्यताहरू, राष्ट्रियताको जल्दाबल्दा समस्याहरू र राष्ट्रका विकास र समृद्धिका आकांक्षाहरुलाई सर्वोपरि राखेर अघि बढ्नु पर्ने बताउँदै खनाल भन्छन् “ तर यो सरकार संविधानको धारा ७६(५) बमोजिम बनेको छ र यसले ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्नु पर्छ । अन्यथा मुलुकको स्थिति फेरि संकटग्रस्त हुनेछ । त्यसैले म नेकपा (एमाले) का संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु ।”

नेता खनालले विज्ञप्तिमा आफ्नो मत देउवालाई भएको वक्तव्यमार्फत प्रष्ट पार्न चाहेको उल्लेख गरेका छन् ।

खनालले भनेका छन् “बहसहरू सञ्चालन गरौं । हाम्रो पार्टीको दोस्रो पुस्ताका साथीहरुको पहलकदमीलाई समर्थक गरांै र एकता संघर्ष र उन्नतस्तरको एकताको द्वन्द्वात्मक प्रक्रिया मार्फत पार्टीलाई नयाँ धरातलमा एकताबद्ध बनाउँदै राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेलौं। यो नै हाम्रो पार्टी एकताको सही मार्ग हो । यो मार्गलाई ठिक ढङ्गले अनुशरण गर्न सकिएन र पार्टी नेतृत्वले यसलाई गम्भीरतापूर्वक लिन सकेन भने हाम्रो पार्टीको एकता जोगाउन सम्भव छैन ।”

 



प्रतिक्रिया दिनुहोस !