७ माघ २०८१, सोमबार

सभामुख सापकोटाले बैठक सुरु गर्दै भने,‘प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ’

प्रकाशित मिति :  18 July, 2021 4:58 pm


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको बताएका छन् ।

पुन:स्थापित प्रतिनिधि सभाको बैठक सुरु गर्दै सभामुख सापकोटाले भने,“शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको छ । प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ ।”

प्रतिनिधि सभाको पुनस्र्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत् विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने हाम्रो लक्ष्यमा दत्तचित्त हुन सबैलाई प्रेरणा मिल्नेमा उनले विश्वास व्यक्त गरे ।

उनले भने,“हामीले अवलम्बन गरेको निर्वाचन प्रणाली र हाम्रो व्यवहारिक यथार्थका दृष्टिले पनि सहमति, समझदारी र सहकार्यमा आधारित राजनीतिक संस्कृतिको विकास र विस्तार गर्नुपर्ने अभिभारा छ । यसबाट मात्र संवैधानिक प्रणालीले गतिशीलता प्राप्त गर्न सक्छ ।”

सभामुख सापकोटाले प्रतिनिधि सभा पुन: क्रियाशील भएसँगै सार्वभौमसत्ताको अभ्यास गर्ने अवसर मात्र प्राप्त नभएको भन्दै यस सभालाई गतिशील, जीवन्त र जनमुखी बनाउने अहम दायित्व पनि थपिएको उल्लेख गरे । उनले भने,“यो विशद कार्यभारका लागि सिंगो संसद, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरु एवं सम्पूर्ण माननीय सदस्यहरुको रचनात्मक भूमिका हुनेछ भन्नेमा म पूर्णरुपमा विश्वस्त छु ।”

सभामुख सापकोटाले सार्वभौम जनता नै राज्य शक्तिको एकमात्र स्रोत भएकोले राज्यको शासन व्यवस्थाको सञ्चालन जनताको इच्छा अनुसार जनप्रतिनिधिमूलक संसदबाट हुने मान्यतालाई संविधानले पूर्णत: आत्मसात् गरेको र सोही कार्यलाई सम्मानित अदालतको फैसलाले पुन: स्थापित गरेको बताए ।

उनले भने,“ यस अवसरमा संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार प्रतिनिधि सभालाई पुनस्र्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सम्मानित सर्बोच्च अदालतप्रति आभार प्रकट गर्न चाहन्छु ।”

प्रतिनिधि सभाको कार्यकाल र प्रभावकारिताका लागि वर्तमान संविधानमा परम्परागत अभ्यास भन्दा केही विशिष्ट र मौलिक विशेषताहरु समावेश गरिएको उल्लेख गर्दै सभामुख सापकोटाले भने,“विगतको तुलनामा संसदलाई अपेक्षाकृत वढी स्वतन्त्र, दिगो र राजनैतिक समस्याहरुको निकास दिने आधिकारिक थलोको रुपमा संविधानमा स्थापित गरिएको कुरा पुन: प्रमाणित भएको छ ।”

 

 



प्रतिक्रिया दिनुहोस !