७ आश्विन २०८१, सोमबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र विप्लवबीच छलफल

प्रकाशित मिति :  20 July, 2021 1:22 pm


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र विप्लव नेतृत्वको नेकपाका नेताहरूबीच छलफल भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)सहितका नेता ओली निवास बालकोट पुगेका हुन् । ओलीलाई भेट्न विप्लवसहित, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बस्तो ओली, निवास बालकोटमा पुगेका थिए ।

भेटमा सहभागी एमाले नेता राजन भट्टराईले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएके बताएका छन् । भेटमा नेकपाका नेताहरूले भएका सहमति अनुसार अगाडि बढ्न चाहेको बताएका थिए ।

उनीहरूले ओली नेतृत्वको सरकारसँग भएको सहमति कार्यान्वयनमा ढिलाई भएको गुनासो गरेको नेता भट्टराईको भनाई छ । भेटपछि नेता भट्टराईले भनेका छन्,“कानुनी जटिलता थिए, त्यो फुकाउने क्रममा अगाडि बढ्दै जाँदा समय नपुगेको हो । अन्यथा रुपमा लिनु हुँदैन भन्यौं ।”

अध्यक्ष ओलीले छलफलका क्रममा सरकार भए पनि विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताएको भट्टराईले जानकारी दिए । पछिल्लो समय नेकपाले सबै शिर्ष नेताहरूसँग छलफल गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !