आजदेखी एचआईडीसीएलको हकप्रद सेयरमा जारी, कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने
काठमाडौं । हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आजदेखि हकप्रद सेयर बिक्री तथा निष्काशन खुला गरेको छ ।
कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । अर्थात कम्पनीको १०० कित्ता सेयर हुने सेयरधनीहरुले १०० कित्ता बराबर नै हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ जेठ २७ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमआई क्यापिटललाई नियुक्त गरेको छ ।आज देखि उक्त हकप्रदमा सेयरमा लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
यस कम्पनीको चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५५ पैसा रहेको छ ।
कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ ।