बाँकी रहेको ‘जोन्सन एण्ड जोन्सन’ खोप १८ वर्ष माथिका सबैलाई दिइने
काठमाडौं । कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरिकाले अनुदानमा दिएको एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप अब १८ वर्ष भन्दा माथिका सबै नागरिकले लगाउन पाउने भएका छन् ।
मंगलबार देखि सुरु गरेको खोप अभियानमा दुइदिनसम्म लगाउँदा पनि खोप बाँकी रहेपछि १८ वर्ष माथिका सबैलाई उक्त खोप दिन लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
पराजुलीका अनुसार स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै एक लाख डोज खोप बाँकी रहेपछि ती खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय गरेको हो ।
यस अघि सरकारले यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन सुरु गरेको थियो ।
अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत गत असार २८ गते जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप नेपाललाई दिएको थियो ।