७ पुस २०८१, आइतबार

होन्डा कम्पनीले भन्यो- ७० वर्षे उपहारको प्रलोभनमा नफँस

प्रकाशित मिति :  22 July, 2021 10:59 am


काठमाडौं । होन्डा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले फेसबुकमा होन्डाको ७० औं वार्सिकोत्सवको शुभकामना भनेर फैलिएको ‘स्कुटर उपहार’ को स्पाम सन्देशमा नफस्न आग्रह गरेको छ ।

केही दिनयता फेसबुकको म्यासेन्जरमार्फत् होन्डाको ७० औं‍ वार्षिकोत्सवमा सर्वे गरिएको र त्यसमा सहभागी होन्डा भिजन स्कुटर जितिने भन्दै एउटा लिंक सेयर भइरहेको छ । त्यो लिंकमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित म्यासेज पाँच वटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने सन्देश आउँछ ।

यसरी स्कुटर जित्ने प्रलोभनमा फेसबुक प्रयोगकर्ताहरूले धमाधम आफ्नो व्यक्तिगत विवरण सो स्पाम लिंकमा हाल्ने र अरुलाई पनि पठाउने गरिरहेका छन् । सूचना प्रविधिको भाषामा यसरी विभिन्न नाममा झुक्याएर सूचना/जानकारी/विवरण (डेटा) चोर्ने कार्यलाई फिसिङ भनिन्छ । यसरी जथाभावी आफ्नो विवरण हाल्दा त्यसको दुरुपयोग हुने, फेसबुक ह्याक हुने जानकारहरू बताउँछन् ।

“हामी सबैलाई यस्ता किसिमका स्क्याममा सहभागी नहुन अनुरोध गर्दछौ‍ं,” स्याकार ट्रेडिङ कम्पनीका सञ्चालक सौरभ ज्योतिले आ‌फ्नो फेसबुक वालमा लेखेका छन् ।

होन्डा नेपालका तर्फबाट जारी सूचनामा यस्ता किसिमका लिंकमा आफ्नो व्यक्तिगत विवरण नदिन आग्रह गर्दै यस विषयमा सम्बोधनका लागि फेसबुकलाई जानकारी गराइ सकिएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !