४ आश्विन २०८१, शुक्रबार

एनजीओमार्फत् झन्डै १८ अर्बका कार्यक्रम, कोभिडका नाममा एनजीओको सयभन्दा बढी कार्यक्रम

प्रकाशित मिति :  22 July, 2021 5:55 pm


NGO

काठमाडौं । नेपालमा गैर सरकारी संस्था (एनजीओ)हरूमार्फत् झन्डै १८ अर्ब रुपैयाँबराबर विभिन्न नामका कार्यक्रम सञ्चालन हुने गरेको पाइएको छ, त्यसमध्ये अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आईएनजीओ)को प्रत्यक्ष लगानी १६ अर्ब हो भने बाँकी आन्तरिक स्रोत परिचालन भएको समाज कल्याण परिषदको विवरणबाट देखिन्छ ।

समाज कल्याण परिषदमा दर्ता भएका एनजीओको संख्या साढे ५१ हजारभन्दा अधिक पुगिसकेको छ भने हालसम्म २३० वटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आईएनजीओ)ले नेपालमा कार्यक्रम सञ्चालन गर्नेगरि परिषदमा दर्ता भएका छन्, यीमध्ये १२२ वटा आईएनजीओ एसोसियन अफ इन्टरनेसनल एनजीओज् अफ नेपाल (एआईएन)का सदस्य छन् । यी आईएनजीहरूले परिचालन गर्ने बजेट यसमा जोडिएको छैन ।

गत वर्षदेखि देखापरेको कोभिड–१९ महामारी नेपालका एनजीओहरूका लागि दाताबाट परियोजना ल्याउने र कमाइ खाने धन्धा भएको पाइएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा मात्र करिब ३२ वटा कार्यक्रमका लागि नेपाली एनजीओहरूले बाह्य दातृ निकायबाट करिब ५० करोड रकम ल्याएकोमा कोभिड-१९ को दोस्रो लहरपछि २०७८ वैशाखदेखि असारसम्म मात्र यसका नाममा ४८ करोड ३४ लाख रुपैयाँ खर्च गर्ने गरी ११४ वटा कार्यक्रम स्वीकृत गराएका छन् ।

एनजीओहरूले दाताबाट कोभिड–१९ रोकथाम र न्यूनीकरण, कोभिड–१९ पछिको राहत र पुनर्स्थापना, अक्सिजन प्लान्ट स्थापनादेखि, पीपीइ, मास्क वितरण, ‘जीविकाका लागि मास्क’ भन्ने खालका कार्यक्रमका लागि पैसा लिएका छन् ।

यस वर्ष कोभिड-१९ सम्बद्ध कार्यक्रमको स्वीकृति लिनेहरूमा वातावरण र जनस्वास्थ्य संस्था,अमेरिका नेपाल चिकित्सा प्रतिष्ठान, उदार करुणामयी स्वयंसेवक, राष्ट्रिय अपांग पुनर्स्थापना समाज, सानो पाइला, सम्भव नेपाल, शान्ति सेवा गृह, नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम् नेटवर्क लगायत छन् ।

समाज कल्याण परिषद्का अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा एक्सन फर नेपाल, अहमदिया संघ नेपाल काठमाडौं, महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल काठमाडौं, अमेरिका नेपाल चिकित्सा प्रतिष्ठान काठमाडौं, एनिमल नेपाल ललितपुर, असल छिमेकी नेपाल कास्की, एसिया एजुकेसनल फाउण्डेसन नेपाल ललितपुर, एसियन स्रोत विकास केन्द्र नेपाल, बि आर्सी नेपाल काठमाडौं, विश्वास नेपाल काठमाडौं, कारीतास ललितपुरलगायतका संस्थाहरूले कोभिडका नाममा कम्तिमा ३० लाखदेखि १० करोडसम्मका कार्यक्रम सञ्चालन गर्ने भनेर स्वीकृति लिएका थिए ।

वितेको आर्थिक वर्ष २०७७/७८ मा भने कोभिड-१९ जनित विश्व महामन्दीको प्रभाव नेपालका एनजीओले परिचालित गर्ने बजेटमा पनि परेको पाइएको छ । गत आवमा नेपालका एनजीओले परिचालित गर्ने बजेट घटेर करिब १२ अर्ब रूपैयाँमा झरेको छ ।

करुणा फाउन्डेसनको बजेट सवा २ अर्ब

नेपालमा विभिन्न नामका कार्यक्रम सञ्चालन गर्छु भनेर आर्थिक वर्ष २०७६/७७ मा अनुमति लिने एनजीओहरूमध्ये करुणा फाउन्डेसन नेपालको बजेट सर्वाधिक धेरै (करिब सवा २ अर्ब रुपैयाँ) भएको समाज कल्याण परिषद्को विवरणबाट देखिएको छ ।

करुणा फाउन्डेसनले अपांगता कल्याणका क्षेत्रमा विभिन्न जिल्लामा सञ्चालित कार्यक्रमका लागि करुणा फाउन्डेसन नेदरल्यान्ड्सलगातका बाह्य स्रोतबाट १ अर्ब १० करोड रुपैयाँ परिचालित गर्नेगरि परिषद्बाट स्वीकृति लिएको थियो ।

गत आर्थिक वर्ष २०७७/७८ मा भने करुणा फाउन्डेसनले केबल १५ लाख रूपैयाँको मात्र कार्यक्रमका लागि स्वीकृति लिएको पाइएको छ ।

करुणापछि सर्वाधिक धेरै बजेट भएको एनजीओ न्याय हेल्थ नेपाल, कास्की रहेको छ । यसले पोसिबल यूएसए, टोन्डो फाउन्डेसन यूएस्ए, द फार ग्रेटर फोप फाउन्डेस हङकङबाट १ अर्ब २१ करोड ७२ लाख र थप ४ करोड ५ लाख बाह्य स्रोतबाट तथा आन्तरिक स्रोतबाट गरि १ अर्ब ९२ करोड ८० लाख रुपैयाँको बजेट स्वीकृत गराएको थियो ।

चौधरी फाउन्डेसनले ल्यायो करिब ९ करोड

सामाजिक सेवा गर्ने उद्देश्य राखेर नेपालका ‘डलर अर्बपति’ विनोद चौधरीले खोलेको चौधरी फाउन्डेसनले आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य र शिक्षामा खर्च गर्नेगरि ९ करोड २८ लाख ७१ हजार रुपैयाँको कार्यक्रम स्वीकृत गराएकोमा बिल एन्ड मलिन्डा गेट फाउन्डेसन र एलजी इलेक्ट्रोनिक्स, कोरियाबाट ८ करोड ८२ लाख १८ हजार रुपैयाँ ल्याएको छ ।

परिषदका अनुसार चौधरी फाउन्डेसले बिल एन्ड मलिन्डा गेट फाउन्डेसनबाट पोषणसम्बन्धी कार्यक्रमका लागि ८ करोड ८२ लाख १८ हजार रुपैयाँ लिएको हो भने एलजी इलेक्ट्रोनिक्स, कोरियाबाट डिजिलट क्लासरुम कार्यक्रमका लागि ४४ लाख ३२ हजार रुपैयाँ लिएको हो ।

 

 

 



प्रतिक्रिया दिनुहोस !