७ आश्विन २०८१, सोमबार

कांग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी

प्रकाशित मिति :  23 July, 2021 1:30 pm


काठमाडौं । नेपाली कांग्रेसले पार्टीको१४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्नेबारे छलफल गरेको छ । बैठकपछि कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महाधिवेशन निर्धारित समयमै गर्ने गरि आन्तरिक कार्यतालिका हेरफेर गर्नेबारे छलफल भएको जानकारी दिए ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा भएको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका छन् । दुवै प्रतिवेदनमाथि छलफल गरेर भोली पुन: बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने महतले बताए ।

कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेकाले पनि महाधिवेशन तालिका प्रभावित हुने देखिन्छ । कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ ।

संशोधित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !