४ आश्विन २०८१, शुक्रबार

नेपालमा छाया अर्थतन्त्र अधिकतम ४० प्रतिशतः आईएमएफ

प्रकाशित मिति :  24 July, 2021 9:34 am


काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालमा छाया अर्थतन्त्रको आकार अधितम ४०.५९ प्रतिशतसम्म भएको बताएको छ । मुद्रा कोषले शुक्रबार सार्वजनिक गरेको विश्वव्यापी अनौपचारिक अर्थतन्त्रको गणनाअनुसार नेपालमा छाया अर्थतन्त्रको आकार कम्तिमा ३७.५० प्रतिशतदेखि अधिकतम ४०.५९ प्रतिशतसम्म भएको उल्लेख छ ।

सरकारको नियामकीय निकायहरूको गणनाभन्दा बाहिर रहेर गैरकानुनी रुपमा वा कानुन छलेर गरिने क्रियाकलापहरूलाई छाया अर्थतन्त्रका रुपमा परिभाषित गरिन्छ भने औपचारिक प्रणालीभन्दा बाहिरका आर्थिक क्रियाकलापहरू अनौपचारिक अर्थतन्त्रका रुपमा परिभाषित छ ।

आईएमएफका अनुसार  छाया अर्थतन्त्रको आकारका आधारमा विश्व र्‍याङ्किङमा नेपाल ५७  ‍औं स्थानमा छ । अध्यययनअनुसार सन् १९९१ मा नेपालमा छाया अर्थतन्त्रको आकार ४३.३९ प्रतिशत रहेकोमा सन् १९९५ मा करिब ४० प्रतिशतमा झरेको थियो भने सन् २००३ मा ३७.५ प्रतिशत थियो ।

सन् २०१५ मा यो अनुपात ३०.२२ प्रतिशतमा रहेको भन्दै मुद्रा कोषले औसतमा नेपालमा छाया अर्थतन्त्रको आकार ३७.५ प्रतिशत रहेको बताएको हो ।

दक्षिण एसियाली मुलुकहरूमध्ये भुटानमा छाया अर्थतन्त्रको आकार २६.९ प्रतिशतसहित विश्व र्‍याङ्किङमा ५१ औ‍ं स्थानमा छ भने छिमेकी मुलुक भारतमा औसत २३ प्रतिशत छाया अर्थतन्त्रको आकारसहित विश्व र्‍याङ्किङमा ८६ औ‍ं स्थानमा छ ।

यसैगरी, बंगलादेश औसत ३३.६ प्रतिशत छाया अर्थतन्त्रको आकारसहित विश्व र्‍याङ्किङमा ६१ औ‍ं स्थानमा छ भने पाकिस्तान औसत ३३ प्रतिशत छाया अर्थतन्त्रको आकारसहित विश्व र्‍याङ्किङमा ७४ औ‍ं स्थानमा छ ।

नेपालमा सरकारी प्रणालीमा दर्ता नभइ हुने आर्थिक कारोबारको आकार भने कम्तिमा ५० देखि ७० प्रतिशत रहेको पाइएको छ । आर्थिक गणना र श्रम शक्ति सर्वेक्षणका आधारमा निकालिएको अद्यावधिक विश्लेषणले करिब आधा अर्थतन्त्र अनौपचारिक देखाएको हो । अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठ नेपालका छाया वा समानान्तर अर्थतन्त्रको आकार ३० देखि ७० प्रतिशतसम्म रहेको बताएका छन् । (नेपालमा अनौपचारिक अर्थतन्त्र विस्तृत विश्लेषण टक्सार आर्थिक म्यागजिनमा)

 



प्रतिक्रिया दिनुहोस !