७ आश्विन २०८१, सोमबार

‘आतङ्कित’ प्रचण्डलाई मन्त्री छान्न सहयोग गर्ने छन् यी नेताले

प्रकाशित मिति :  24 July, 2021 6:01 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालयमा आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसको अवसरमा कार्यक्रम राखेको थियो ।

कार्यक्रममा बोल्दै प्रचण्डले भने,“म अहिले यहाँ मन्त्री बन्न दबाव दिने मान्छेहरूको हुलभित्रबाट आएको छु । आतंक छ मेरो दिमागमा । कल्लाई बनाउने,कल्लाई नबनाउने ? ४९ जना सांसद सबैलाई मन्त्री चाहिया छ, हामीले बढी पाउने भने ७ जना हो ।”

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि माओवादी केन्द्रका तर्फबाट २ जना जनार्दन शर्मा र पम्फा भुसालमात्रै वर्तमान मन्त्रिपरिषद्मा सहभागि भएका छन् । माओवादी केन्द्रले कम्तिमा ७ वटा मन्त्रालय पाउने हो भने अब बाँकी ५ वटा मन्त्रालय छन् । तर प्रचण्डका अनुसार सबैले मन्त्री बन्न दाबी गरिरहेका छन् ।

सरकारमा सरकारको नेतृत्व कसले गर्ने ?

गठवन्धन भएकाले माओवादी केन्द्रको तर्फबाट कुने एक वरिष्ठ नेताले सरकारमा पार्टीको नेतृत्व गर्ने छ ।

अहिलेसम्म पूर्वसभामुख कृष्णबहादुर महरा र नारायणकाजी श्रेष्ठको नाम चर्चामा रहेपनि दिनानाथ शर्मा र हरिबोल गजुरेलको पनि कसरत जारी छ ।
माओवादी केन्द्रभित्र नारायणकाजी श्रेष्ठको आफ्नै खेमा छ जसका कारण प्रचण्डले उनका लागि मन्त्रालय त छुट्टाउनै पर्नेछ । श्रेष्ठ खेमाबाट अहिलेसम्म आफै वा गिरीराजमणि पोखरेललाई बढी प्राथमिकता दिइने गरेको छ ।

श्रेष्ठ खेमा जाँदा शिक्षा वा स्वास्थ्य मन्त्रालय ‘ठेक्का पाउने’गरेको आरोप लाग्ने छ । तर गठबन्धनमा मन्त्रालय बाँडफाँड गर्दा कुन पर्छ अहिले टुंगो पर्छ ।

उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय माओवादी केन्द्रबाट नेतृत्व गर्ने नेताले पाउने छन् र सम्भवत: प्रधानमन्त्रीपछिको दोस्रो वरियता पनि । यसका लागि श्रेष्ठ आफै ललायित छन् । उनले आफ्नो इच्छापनि व्यक्त गरिसकेको सार्वजनिक चर्चाको विषय छ ।

पूर्वसभामुख महराकोपनि नाम चर्चामा छ । र, सरकारमा पार्टीको नेतृत्व गर्नुपर्ने अवस्था आए स्वभाविक रुपमा श्रेष्ठ भन्दा महरा बढी बलिया दाबेदार हुन् । महरा निकट स्रोतका अनुसार पार्टीमा सरकारको तर्फबाट नेतृत्व गर्ने विषयमा उनीपनि नकारात्मक छैनन् ।

दिनानाथ शर्मा र हरिबोल गजुरेलपनि सरकारको नेतृत्व गरेर जान पाउनुपर्नेमा दाबी गरिरहेका छन् । यो नभएको अवस्थामा उर्जा मन्त्री भुसाललाई नै सरकारको नेतृत्वको जिम्मा पनि एउटा विकल्प हुन सक्ने छ ।

अहिलेसम्म अवसर पाएका र नपाएकाको दुरी

माओवादी केन्द्रभित्र सधै अवसर पाएका र नपाएकाबीचको दुरी छ । यसको बहसपनि माओवादी केन्द्रभित्र बहस बनेको छ ।

वर्तमान सरकार आफैमा शक्तिशाली छ । तलमाथि नभए वा पार्टी निर्णयमा हेरफेर नभए कम्तिमा १७ महिना अब बन्ने मन्त्रीले आफ्नो कार्यकाल सञ्चालन गर्ने पाउने छ भने चुनाव गराउनेसम्मको अवसर हुनसक्छ । त्यसैले अवसर नपाएकाहरूका लागि अहिलेसम्म यो ‘क्षतिपूर्तिसहित’को अवसर हो ।

निर्णायक को ?

गठबन्धनको न्यूनतम साझा कार्यक्रम र नयाँ सरकारमा सहभागिताका विषयमा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक समेत बोलाईसकेको छ । तर अन्तिममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै मन्त्री बन्नेको टुंगो लगाउने छन् । यसका लागि उनले नजिकको ‘कोर टिम’ भित्र छलफल गर्ने नै छन् ।

प्रचण्डले मन्त्रीको टुंगो लगाउन र अन्तिम निर्णयमा सहयोग गर्ने भूमिकामा कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा भूमिका निर्णायक बन्ने माओवादी केन्द्रभित्रका नेता प्रष्ट छन् ।

सम्भवत : यही बुझेर हुन सक्छ मन्त्री बनाउने लविङ गर्नेहरूले यी चार नेतालाई समेत दबाव दिएका छन् । किन भने ‘आतंकित’ प्रचण्डलाई सहयोग गर्न ‘फ्रन्ट’मा यिनै नेता हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !