९ माघ २०८१, बुधबार

रोल्पामा टोल शिक्षा मार्फत पठनपाठन

प्रकाशित मिति :  24 July, 2021 6:47 pm


रोल्पा । रोल्पाको एक सामुदायिक विद्यालयले टोलशिक्षा मार्फत पठनपाठन सञ्चालन गरेको छ । सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमुना माविले आसार मसान्तदेखि टोल शिक्षा मार्फत पठनपाठन चलाएको हो ।

“विद्यार्थीहरूमा पढ्ने बानी घट्दै गएको भन्दै अभिभावकले पटक पटक वैकल्पिक विधिवाट पठन पाठन गर्न गरेको आग्रह वमोजिम तल्ला कक्षाहरुमा टोल शिक्षा सुरु गरेका हौं ” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले भने ।

टोल शिक्षामा वढीमा २५ जना विद्यार्थीलाई एउटा कक्षामा राख्ने गरिएको छ । कोरोनाको संक्रमण विश्लेषण गर्दै सावधानीपूर्वक टोल शिक्षा सुरु गरेको न्यौपानेको भनाई छ । स्वास्थ्य मापदण्ड बारे अभिभावकहरूलाई अभिमुखीकरण गरेर टोल शिक्षा सुरु गरेको विद्यालयले जनाएको छ ।

कोरोनाको दोश्रो लहर संगै वन्द भएको विद्यालय खुल्ने सुनिश्चित नहँुदा अभिभावकको माग वमोजिम टोल टोलमा पठन पाठन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक मधुसूदन पोख्रेलले जानकारी दिए । “विद्यालय वन्द रहेपनि पढाई वन्द नहोस् भनेर यो विधिवाट पठनपाठनलाई निरन्तरता दिएका छौं,” प्रधानाध्यपक पोख्रेलले भने । कक्षा नर्सरी देखी कक्षा ३ सम्म टोल शिक्षा सुरु गरेको विद्यालयले जनाएको छ ।

“चालू शैक्षिक सत्रमा कक्षा नर्सरी देखी कक्षा ३ सम्म भर्ना भएका ४२३ मध्ये ३५८ विद्यार्थी टोल शिक्षामा समावेश भएका छन्,” विद्यालयका शिक्षक मुकेश हमालले   भने ।

टोल शिक्षामा सहभागि हुनेहरुको संख्या दिनानुदिन बढ्दै गएकाले भर्ना भएका तर टोल शिक्षामा नआएका विद्यार्थीलाई पनि यथासिघ्र सहभागि गराउने पहल भईरहेको शिक्षक हमालको भनाई छ ।

विद्यालयले थालनी गरेको टोल शिक्षाले विद्यार्थीहरू पढाई प्रति आशावादी देखिएको अभिभावकहरूको भनाई छ । लामो समय विद्यालय वन्द रहदा मोवाईल र टिभीमा झुमिने केटाकेटी टोल टोलमा गएर पढ्न पाएकोमा आफुहरु खुशी भएको अभिभावक मन वहादुर खत्रीले बताए । उनले भने,“विद्यार्थीमा पढ्ने लेख्ने बानी विर्सदै गएको देख्दा दु:ख लागेको थियो टोल शिक्षाले उनीहरुलाई व्यस्त वनाएको छ ।”

बालकल्याण माविले सुरु गरेको टोल शिक्षालाई आफू हरूले पनि अनुसरण गरेको सरस्वती आधारभूत विद्यालय रोल्पा नगरपालिका-२ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगवहादुर वलीले जानकारी दिए ।

जिल्लाका अन्य सामुदायिक र संस्थागत विद्यालयहरूले पनि टोल शिक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !