७ आश्विन २०८१, सोमबार

महाधिवेशनको कार्यतालिका हेरफेर गरिएकोप्रति कांग्रेस जिल्ला सभापति तथा महासमिति सदस्यहरुको आपत्ति

प्रकाशित मिति :  25 July, 2021 3:30 pm


काठमाडौं । काठमाण्डौंमा उपलब्ध जिल्ला सभापति एवं महासमिति सदस्यहरूले १४ औं महाधिवेशनको कार्यतालिका स्थगित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले भनेका छन्,“यसप्रकारको कदमले पार्टीको लोकतान्त्रिक छवीमा असामान्य आघात पुगेको र नयाँ पुराना सम्पूर्ण पार्टी सदस्यको चाहना अनुरुप सबैखाले चुनौतीको सामना गर्नसक्ने नीति र नेताबारे निर्णय गर्ने ऐतिहासिक अवसरबाट पार्टी चुकेको छ ।”

पार्टीको १३ औं महाधिवेशनबाट गठन भएको वर्तमान केन्द्रीय कार्यसमितिले विश्वव्यापि लोकतान्त्रिक विकेन्द्रीकरणको सिध्दान्त र विधानका प्रष्ट व्यवस्था विपरीत जिल्ला कार्यसमिति लगायत पार्टीका तल्ला तहहरूको भूमिकालाई कमजोर बनाउँदै लगेको उनीहरुको आरोप छ ।

विज्ञप्तिमा महासमिति बैठकको निर्णयहरूलाई हठात् उल्टाएको,विधान विपरीत छ्यापछ्याप्ति विना मापदण्डका नियुक्ति पत्रहरू बाँड्दै हिँडेको, पार्टीमा लामो समय काम गरेका नेता एवं सदस्यहरूको अपमान तथा तेजोवध गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,“अराजनीतिक आधार एवं स्वार्थको जगमा राजनीतिक अवसर र भूमिका प्रदान गरिएका बर्गेल्ती घटनाहरूले देशभरिका साथीहरूको मन कुँडिइरहेको बेलामा अहिले महाधिवेशनको मुखमा आएर क्रियाशील सदस्यता छानवीनका नाममा अनियमितताले सीमा नाघेको छ ।”

विधानको धारा ४ को उपधारा ८ (ग) मा उल्लेखित “क्रियाशील सदस्यता प्रारम्भिक छानवीन समिति” को अधिकारमाथि ठाडो हस्तक्षेप गरिएको भन्दै जिल्ला सभापति तथा महासमिति सदस्यहरूले षडयन्त्रपूर्वक सोझै “केन्द्रीय क्रियाशील सदस्यता छानवीन समिति” मा उजुरी राख्न सूचना निकालिएको आरोप लगाएका छन् । सबै अधिकारलाई केन्द्रीकरण गर्ने र आफुखुसी हेराफेरी गर्ने डरलाग्दो श्रृङ्खला जारी रहेको उनीहरुको आरोप छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ,“सफ्टवेयर प्रयोगको सकारात्मक प्रयत्नमाथि एकतर्फी रुपबाट दुरुपयोगको खतरा झनै बढ्दै गएको छ ।

पार्टी संस्थापनको दबाब र प्रभावका आधारमा वडादेखि प्रकृयागत रुपबाट आएका नामावलीको अलावा पनि नामहरू ईन्ट्री भएको, प्रक्रिया पुगेका कतिपय नामहरू हटाइएको, शतप्रतिशतभन्दा बढी समेत ईन्ट्री भएको,समायोजनका नाममा विधि र औचित्य नाघेर निर्णय भएको, ठाउँ हेरी समान प्रकृतिका समस्यामा विपरीत निर्णय भएको र समग्रमा पार्टी संस्थापनको स्वार्थलाई केन्द्रविन्दुमा राखेर पक्षपातपूर्ण काम भैरहेको छ ।”

जिल्ला सभापति था महासमिति सदस्यहरूले अविलम्व सम्पूर्ण नामावली सूची सार्वजनिक गर्न,त्रुटिपूर्ण तथा अन्यायपूर्ण नामावलीलाई विधानसम्मत सच्याउने मौका प्रदान गर्न र पारदर्शी रुपले सदस्यता सम्वन्धी समस्याको निराकरण गर्न केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गरेका छन् ।

उनीहरूले भनेका छन्,“ विधान र मापदण्ड विपरित क्रियाशील सदस्यता थोपरिएमा हुनसक्ने कुनैपनि दुष्परिणामका प्रति स्वयं नेतृत्व जिम्मेवार रहने तथ्य समेत स्पष्ट गर्न चाहन्छौं ।” नेपाली कांग्रेसले महाधिवेशनको आन्तरिक कार्यतालिका सार्वजनिक भएपछि जिल्ला सभापति तथा महासमिति सदस्यहरूको यस्तो धारणा सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस !