७ आश्विन २०८१, सोमबार

निर्वाचन अयोगले जसपाका कार्यकारिणी समिति सदस्यको सनाखत गर्दै,आधिकारिकता कसलाई ?

प्रकाशित मिति :  26 July, 2021 10:45 am


काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताबारे छिनोफानो गर्न आज कार्यकारिणी समिति सदस्यको सनाखत गर्दैछ ।

महन्थ ठाकुर र उपेन्द्र यादवपक्ष विभाजित भएपछि आधिकारिकताको दाबी परेको छ ।

आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ७ गते कानूनी बहस सकेर पार्टी एकीकरण बखत संलग्न कागजातसहित उपस्थित हुन आग्रह गरेको थियो ।

सोहीअनुरुप जसपाका अध्यक्ष यादव र अर्का अध्यक्ष ठाकुर पक्षका कार्यकारिणी सदस्य सनाखतका लागि आयोगमा बिहान ११ बजे उपस्थिति हुँदैछन् । सनाखतपछि आयोगले आधिकारिकतासम्बन्धी निर्णय सुनाउने छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपिसहित बिहान ११ बजे आयोगमा उपस्थिन हुन आग्रह गरेको जानकारी दिए ।

उपेन्द्र यादव पक्षमा कार्यकारिणी समितिका बहुमत सदस्य भएको दाबी गरिएकाले सोही पक्षले आधिकारिकता पाउने अनुमान गरिएको छ । जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राइले पार्टी आधिकारिकता लगभग निश्चित भएको र आज कार्यकारिणी सदस्यले सनाखत गरेपछि टुङ्गो लाग्ने बताए ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो ।

ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो । दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए । पछिल्लो पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गर्ने निर्णय गरेका थिए । यादव पक्षले सरकारमा सहभागिता जनाउने निश्चित भइसकेको छ ।

आयोगको निर्णयअघि अध्यक्ष ठाकुरले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि हिजो सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अयोगलाई आधिकारिकता विवाद टुंग्याउन बाटो खुलेको हो ।



प्रतिक्रिया दिनुहोस !