९ माघ २०८१, बुधबार

कोरोना संक्रमणको तेस्रो लहर रोकथामका लागि तयारी गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रकाशित मिति :  26 July, 2021 6:51 pm


काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमणको लहर फैलन सक्ने भन्दै तयारी अवस्थामा रहन सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समिति बैठकले कोरोना संक्रमणको तेस्रो लहरको तयारी गर्न निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले भनिन्,“कोरोना संक्रमण घटेको देखिएको छैन, तेस्रो लहर आउने भनेर सरकारले नै भनेको छ, त्यसैले कोरोना संक्रमणको तेस्रो लहरका लागि तयारी गर्न सरकारलाई निर्देशन दिएका छौं ।”

समितिले खोप अभियान तिब्र बनाउन, आइसियू,भेन्टिलेटर तथा कोडिभ बेड बढाउन र कोभिड उपचारमा एकरुपता ल्याउन भनेको छ । समितिले निजी अस्पतालले कोरोना संक्रमितको उपचारका लागि महंगो शुल्क लिएको भन्दै समितिले अनुगमन गर्न र एकरुपता ल्याउन सरकारलाई भनिएको सभापति घर्तीले जानकारी दिइन् ।

साथै पछिल्लो समय कोरोना संक्रमण फैलने गरि आमसभा तथा कार्यक्रमहरु गरिरहेको भन्दै यसमा सजगता अपनाउन पनि समितिले सुझाव दिएको छ ।

समिति बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले आगामी असोज महिनाबाट कोभिड १९ को तेस्रो लहर सुरु हुनसक्ने बताएका थिए ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै मन्त्रालयले संक्रमणको आगामी ५ महिनामा करिब २ लाख संक्रमित थपिन सक्ने बताएको हो ।
मन्त्रालयको योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने जोखिम रहेको छ ।

संक्रमितमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको लोहनीले बताए ।



प्रतिक्रिया दिनुहोस !